‘जेन–जी’ युवालाई प्रधानमन्त्री सुशीला कार्कीको आह्वान- तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन–जी’ युवाहरूलाई आफ्नो आक्रोश र सपना आगामी निर्वाचनमा मतपत्रमार्फत व्यक्त गर्न आह्वान गरेकी छिन् । सरकार गठनको सय दिन पूरा भएको अवसरमा देशवासीका नाममा जारी शुभकामना सन्देशमा उनले विद्यमान समस्याको समाधान लोकतान्त्रिक प्रक्रियामार्फत सम्भव हुने स्पष्ट पारेकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनप्रति आशंका नगर्न आग्रह गर्दै देश निर्वाचनको दिशामा दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरेकी छिन् । उनले युवाको सहभागिता नै लोकतन्त्र सुदृढ गर्ने प्रमुख आधार भएको भन्दै मताधिकारको प्रयोगमार्फत परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेकी छिन् । 

‘म विशेषगरी हाम्रा ‘जेन–जी’ युवाहरूलाई भन्न चाहन्छु– तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् । सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ । तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । 

चुनाव लोकतन्त्र र सुशासन जिताउने अभियान भएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन् । भ्रष्टाचारमुक्त समाज र उत्तरदायी सरकार निर्माणका लागि वैधानिक र प्रभावकारी माध्यम चुनाव नै भएको उनको भनाइ छ । कतिपय नागरिकको मनमा ‘देश साँच्चै चुनावतिर अघि बढेको हो कि होइन’ भन्ने जिज्ञासा रहे पनि प्रधानमन्त्री कार्कीले ती आशंका निराधार भएको बताइन् ।

‘फागुन २१ गते हुने निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो । म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु– चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णत: निराधार र भ्रमपूर्ण छन् । यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टानझैँ दृढ छ,’ प्रधानमन्त्रीको सन्देशमा छ । 

प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको बताएकी छिन् । एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र आवश्यकताअनुसार नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको उनको भनाइ छ ।

कार्कीका अनुसार आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ । यसका अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुन: सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको सन्देशमा छ । 

चुनावका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको उनको सन्देशमा छ । यस्तै मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

‘आज एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ । ११४ वटा राजनीतिक दलहरू यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ । विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ,’ उनले भनेकी छिन् । 

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको भावनाअनुसार सरकार सुशासन र निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढेको दाबी गरेकी छिन् । ‘चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो । हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो । अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ,’ राष्ट्रिय एकताका लागि आह्वानसहित उनले भनिन् । 

परिवर्तन तत्काल प्राप्त हुने उपलब्धि नभई दीर्घकालीन प्रक्रिया भएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन् । उनले धैर्य, परिश्रम र सामूहिक प्रतिबद्धताको खाँचो पनि औँल्याएकी छिन् । साथै, उनले २१ फागुनको निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गरेकी छिन् ।

‘आउनुहोस्, आगामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरौँ । राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ । यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ,’ उनले आह्वान गरेकी छिन् । 

प्रधानमन्त्री कार्कीले सरकारले असामान्य परिस्थितिलाई नियन्त्रणमा लिएर मुलुकलाई सामान्य अवस्थामा फर्काएको र कानुनको शासन बहालीमा उल्लेखनीय सफलता मिलेको दाबी गरिन् । सुरक्षा निकायको मनोबल दीर्घकालीन रूपमा सुदृढ बनाउने काम भइरहेको उनको भनाइ छ । ‘खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन, दीर्घकालसम्म बढाउने काम गर्दै छौँ,’ उनले भनिन् । 

कार्कीले विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणहरूमा अनुसन्धान गर्ने निकायहरूले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको उल्लेख गरेकी छिन् । ‘यी कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको छ । कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ,’ उनले भनेकी छिन् । 

सरकारले ठेक्कामा मिलेमतो, विकास आयोजना अलपत्र पार्ने र राज्य स्रोत दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध कठोर कदम चालेको प्रधानमन्त्रीको दाबी छ । ‘यस सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ,’ उनको दाबी छ । 

पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको उनको भनाइ छ । ‘मापदण्डविपरीत खटिएका पाँच सय सुरक्षाकर्मी र सवारीसाधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ । अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,’ उनले भनेकी छिन् । 

प्रधानमन्त्री कार्कीले एक खर्ब १९ अर्ब रुपैयाँबराबरको बजेट पुन: प्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ ल्याइएको उल्लेख गरेकी छिन् । 

हेलो सरकारमार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको, काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको उनको सन्देशमा छ ।
 

सुझावित समाचार