आन्दोलनरत भन्सार एजेन्ट नियमित काममा फर्किएका छन् । २१ मंसिरबाट लागू भएको भन्सार ऐन, २०८२ को केही व्यवस्थाप्रति असन्तुष्टि राख्दै संशोधन हुनुपर्ने माग राखे पनि सनुवाइ नभएपछि भन्सार एजेन्ट महासंघको अगुवाइमा देशभरका एजेन्ट आन्दोलित भएका थिए ।
आन्दोलनका कारण मंगलबार सबै भन्सार कार्यालयको जाँचपास प्रभावित भएपछि बुधबार दिउँसो वार्ता गरी माग सुनुवाइ गर्ने सहमति भएको छ । बुधबार सहमतिलगत्तै महासंघले विज्ञप्ति जारी गरेर ‘पेनडाउन’ कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । ‘भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सिर्जना भएको हुँदा विरोधस्वरूप भन्सार एजेन्ट महासंघ नेपालद्वारा मिति २०८२ मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयमा पेनडाउनलगायतका विरोध कार्यक्रमप्रति भन्सार विभाग र महासंघबिच छलफल भई सकारात्मक रूपमा महासंघका माग सम्बोधन भएकाले पेनडाउन कार्यक्रम फिर्ता भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ’ महासंघ अध्यक्ष प्राचीनकुमार थैबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भन्सार विभागले समेत छुट्टै विज्ञप्ति जारी गरेर निकास निकालिएको जनाएको छ । भन्सार एजेन्टले उठाएका माग मन्त्रालयलाई जानकारी गराई समाधान निकाल्ने सहमति भएको विभागले जनाएको छ । हालसालै जारी भएको ऐनले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियालाई सहजीकरण गर्नुको साटो भन्सार एजेन्टको पेसा–व्यवसाय एव आमउद्योगी–व्यवसायीलाई हतोत्साहित बनाउने दाबी गरेका छन् ।