हत्या आरोपमा १२ वर्ष कैद भुक्तान गरी छुटेको ६ वर्ष नपुग्दै अर्को हत्या

जेलभित्र जोडिएको कैदी र प्रहरीबिचको प्रेमसम्बन्ध हत्यामा पुगेर टुङ्गियो

शनिबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

हत्या आरोपमा १२ वर्ष कैद सजाय भुक्तान गरेर छुटेको ६ वर्ष नपुग्दै पुनः अर्को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन साविक बछौली गाउँ विकास समिति–१ हाल रत्ननगर नगरपालिका–७ घर भएका बर्ष ४७ का बुद्धीराम दराई रहेका छन् । 

१२ वर्ष कैद सजाय भुक्तान गरेर छुटेको ६ वर्ष नपुग्दै पुनः उनलाई पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा लमजुङ प्रहरीले पक्राउ गरेको हो । दराईलाई प्रहरीले भारत सीमा नजिकको बेलहिया नाकाबाट पक्राउ गरि ल्याएको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कँडेलको लमजुङ बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित घर ३–४ दिनदेखि बन्द रहेको, घरभित्रबाट दुर्गन्ध समेत आएको र घरको झ्यालहरूमा हरियो झिंगा बसेको देखेपछि छिमेकीले ३१ चैत ०८१ मा प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरीसहितको टोलीले कँडेल सुत्ने कोठामा रहेको लोबेडभित्र त्रिपालले बेरीएको र सडे गलेको अवस्थामा शव फेला परेको थियो । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा घटनामा दराईको संलग्नता रहेको फेला पारेपछि घटनाको आठ महिनापछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । हत्यामा संलग्न भएको आशंका र सोलाई पुष्टि गर्ने विभिन्न तथ्य र प्रमाण भेटिएपछि प्रहरीले १५ वैशाख ०८२ मा लमजुङ अदालबाट दराईको नाममा पक्राउ पुर्जी समेत जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेको सात महिनापछि दराईलाई १८ मंसिर ०८२ मा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडांैको सहयोगमा पक्राउ गरी लमजुङ ल्याएको हो । दराईलाई जिल्ला अदालत लमजुङबाट शुक्रबार कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप लिई आवश्यक थप अनुसन्धान सुरु गरेको प्रमुख बोहराले जानकारी दिए ।

यस्तो छ घटना
पक्राउ परेका दराई र कँडेलबिच चितवन कारागारमा रहदा चिनजान भएको थियो । कारागारमा दराई कैदी र कडेल कारागारको सुरक्षाकर्मीको रुपमा कार्यरत रहेकी थिइन् । कारागारमा रहदा दराई बिरामी भएको समय कँडेल कुरुवाको रुपमा रहेकी थिइन्, सोही सयम उनीहरू नजिक भएका थिए । जागिरबाट अवकास भएपछि कँडेल बेसीशहरस्थित आफ्नो घरमा बस्दै आएकी थिइन् । उता कैद भुक्तानपछि छुटेका दराईले पनि कँडेलको बेसीशहरस्थित घरमा आउजाउ गर्न सुरु गरेका थिए । दराई र कँडेलबिच कारागारमा भएको चिनजान पछि आर्थिक लेनदेन समेत भएको र सोही विषयलाई लिएर विवाद भएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाएको छ । त्यसपछि पछिल्लो समय उनीहरूबिच कतिपय विषयमा मतभेद समेत हुने गरेको थियो ।

अनुसन्धानका क्रममा दराईले १२ चैत ०८१ मा चितवनबाट लमजुङ आई १० दिन अर्थात २२ चैतसम्म कँडेलको घर आसपासको निगरानी गरि हत्या योजना बनाएका थिए । त्यस समय कँडेलको घरमा आएका पाहुनाका कारण दराईले योजनाअनुसार कुनै अप्रिय घटना घटाउन नसकेपछि २२ चैतमा चितवन फर्केका थिए । त्यसको चार दिनपछि पुनः २६ चैतमा चितवनबाट बेसीशहर आएका उनले २७ चैत विहान कँडेलको हत्या गरेका थिए । को िहकसैलाई तत्काल शंका नहोस् भनि घरमा ताला लगाई छिमेकीलाई ६ सय रुपैयाँ दिएर झोला सडकसम्म पुर्याउन लगाई बेसीशहर बजार आई सार्वजनिक बसमा चढी डुम्रेतर्फ लागेको र त्यसको केहिदिन पछि भारत गएका थिए । भारतको नयाँदिल्लीमा सुरक्षा गार्डको रुपमा काम गरी बस्दै आएकोमा प्रहरीलाई झुक्यानमा पारी नेपाल आउँदै गर्दा दराई पक्राउ परेका थिए ।

कैद भुक्तान गरेर छुटेको ६ वर्ष नपुग्दै अर्को हत्या
दराई यसअघि पनि हत्या आरोपमा १२ वर्ष कैद भुक्तान गरि ३ असोज ०७६ मा छुटेका थिए । १२ चैत ०६७ मा ५३ वर्षीया चिनिमाया पाण्डेको हत्या मुद्दामा गोरखा जिल्ला अदालतले २० असार ०६८ मा दराईलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसपछि सर्बोच्च अदालतबाट १३ चैत ०७१ मा १२ वर्षको कैद फैसला कायम भई उनी ३ असोज ०७६ मा कारागार कार्यालय, धादिङबाट छुटेका थिए ।
 

See More On

सुझावित समाचार