एमाले महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढाउन पत्राचार

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढाउन जिल्ला कमिटी धनकुटालाई केन्द्रीय कार्यालयले पत्राचार गरेको छ ।

एमाले केन्द्रीय कार्यालयले मंगलबार एमाले जिल्ला कमिटी धनकुटालाई पत्रचार गर्दै पाँच दिनभित्र राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरी पठाउन निर्देशन दिएको छ । प्रतिनिधि छनोटका लागि भएको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको भन्दै पुनः पारदर्शी ढंगले पार्टीका सबै संगठित सदस्यहरूलाई सूचना सम्प्रेषण गरेर पालिकामा मतदान केन्द्र व्यवस्थापन गरी पाँच दिनभित्र निर्वाचन गर्न पत्रमा भनिएको छ ।

उक्त निर्वाचन प्रक्रियालाई सहज ढंगले सम्पन्न गर्न पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राई र धनकुटा जिल्ला इन्चार्ज राजेन्द्र राईलाई जिम्मेवारी पनि तोकिएको छ। यसअघि धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली पक्षबिच सर्वसम्मत प्रतिनिधि छनोटको पहल भए पनि सफल नभएपछि पार्टी केन्द्रको सर्कुलरअनुसार मंसिर १३ गते निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको थियो। तर, नेता इन्द्रमणि पराजुली पक्षले आफूहरूलाई बाइपास गरी गरिएको निर्वाचन एकपक्षीय भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । 

एमाले धनकुटाको संगठित सदस्य संख्या आठ हजार २३६ जना रहेको छ । धनकुटाबाट १३ जना प्रतिनिधि छनोट भएका थिए । मंसिर १३ गते निर्वाचनबाट राजेन्द्र राई पक्षका मात्र प्रतिनिधिहरू छनोट भएका थिए । त्यसकारण धनकुटामा पुनः निर्वाचन गर्न पार्टी केन्द्रले निर्देशन दिएको हो ।

सुझावित समाचार