- चालू आवको कात्तिक मसान्तसम्म एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्यबराबरको ४६ लाख ८८ हजार नौ सय ३२ केजी चिया निर्यात
पूर्वीनाका काँकडभिट्टा हुँदै बिदेसिने नेपाली कृषि उत्पादन चियाको निर्यात घटेको छ । चालू आर्थिक वर्ष ०८२/८३ को चार महिनामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३७ दशमलव ७ प्रतिशत निर्यात घटेको हो ।
मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आवको कात्तिक मसान्तसम्म एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्यबराबरको ४६ लाख ८८ हजार नौ सय ३२ केजी चिया निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार मूल्यबराबरको ८० लाख ६२ हजार एक सय ६४ केजी चिया निर्यात भएको थियो । यसपटक चिया उत्पादनमा नै कमी आएका कारण निर्यात कम भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले जानकारी दिए । चियामा लुपर नामक किराका कारण रोग देखिएको उनले बताए । ‘यसपटक सिटिसी चियामा रोगले व्यापक समस्या ल्याएको छ । उत्पादन घट्दा निर्यातसमेत घटेको छ,’ उनले भने, ‘विगतमा दुई करोड केजी चिया उत्पादन हुँदै आएको थियो । यसपटक एक करोड ७५ लाखसम्ममा नै सीमित हुने खतरा छ । यद्यपि, पुरानै अवस्थामा फर्काउन चिया उद्यमी र किसानले प्रयास गरिरहेका छौँ ।’
लुपर क्याटरपिलर नामक किराको प्रकोपका कारण यस वर्ष चियाको उत्पादन २० देखि २५ प्रतिशत घट्ने अनुमान गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । ‘यो किराले कलिलो मुना चपाएर खाने र कोतर्ने गर्छ । जसका कारण अहिले चियाको उत्पादन घट्दो छ,’ उनले भने, ‘यो प्रकोपलाई नियन्त्रण गर्न कडा विषादी प्रयोग गरिँदा चियालाई फाइदा गर्ने किरा पनि मारिएका छन् । एउटा रोग लागेपछि अरू पनि रोग देखापर्छ, जसले गर्दा उत्पादन घट्छ ।’
मेची भन्सारबाट निर्यात घट्यो
चालू आर्थिक वर्षको चार महिनामा गत वर्षको यही अवधिको तुलनामा समग्र आयात भने बढेको । अघिल्लो आर्थिक वर्ष ०८१/८२ को चार महिनाको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म १२.१२ प्रतिशत आयात बढेको छ । चालू आवको कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोडको सामग्री आयात भएको छ । जबकि, अघिल्लो आवको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ लाख २१ हजारबरारबको सामग्री आयात भएको थियो ।
पूर्वीनाकाबाट हुने आयात वृद्धि भए पनि नेपालबाट निर्यात हुने सामग्री भने घटेको छ । गत आर्थिक वर्षको चार महिनाको अवधिभन्दा चालू आर्थिक वर्षको चार महिनामा ४ दशमलव १२ प्रतिशतले निर्यात घटेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।