जेन–जी आन्दोलनबाट भएको क्षतिको बिमाबापत चार अर्ब भुक्तानी

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण
  • प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन सरकारले दिएको थियो निर्देशन

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण आएको दाबीबापत बिमा कम्पनीहरूले चार अर्ब दुई करोड अग्रिम भुक्तानी दिएका छन् । २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँबराबरको क्षति दाबी गर्दै तीन हजार दुई सय ५५ दाबी परेकामा हालसम्म चार अर्ब दुई करोड भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

अन्तिम दाबी भुक्तानीको विवरण सर्भेयर प्रतिवेदन आएपछि मात्रै प्राप्त हुने भएपछि बिमा कम्पनीहरूले बिमितको सहजताका लागि तत्काललाई आंशिक रकम अग्रिम दाबीबापत दिइरहेका हुन् । सरकारले पनि प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशत अग्रिम भुक्तानी गर्न ५ असोजमै निर्देशन दिएको थियो । 

प्राधिकरणका अनुसार सम्पत्ति बिमातर्फ १९ अर्ब तीन करोड ४१ लाखबराबरका ६ सय ९५ वटा दाबी परेकामा तीन अर्ब नौ करोड ४७ लाख अग्रिम भुक्तानी गरिएको छ । 

त्यस्तै, मोटर बिमामा तीन अर्ब ४४ करोड १० लाख रुपैयाँबराबरका दुई हजार दुई सय ९५ वटा दाबी परेकामा ८४ करोड ८५ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांक छ । 

इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ५५ करोड चार लाखबराबरका दुई सय नौवटा दाबी परेकामा ६ करोड ६९ लाख अग्रिम भुक्तानी भएको छ । परिवहन बिमातर्फ एक करोड ६९ लाखबराबरका १२ वटा दाबी परेका थिए, त्यसमा ४८ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ । 

अन्य बिमामा ३९ करोड १८ लाखबराबरका ४४ वटा दाबी परेका थिए, त्यसमा ३९ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

असोजको बाढीबाट भएको क्षतिमा एक करोड १४ लाख अग्रिम भुुक्तानी 
१८–२० असोजको वर्षा तथा बाढीपहिरोबाट क्षति भएको दाबीसहित परेको निवेदनमा बिमा कम्पनीहरूले एक करोड १४ लाख भुक्तानी दिएका छन् । उक्त बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूमा तीन अर्ब ७७ करोड ४२ लाख रुपैयाँबराबरका सात सय ४४ वटा दाबी परेका छन् । 

विभिन्न १३ निर्जीवन बिमा कम्पनी र दुईवटा लघु निर्जीवन बिमा कम्पनीमा यसअन्तर्गतका दाबी परेका छन् । सम्पत्ति बिमामा तीन अर्ब २१ करोड ५० लाखबराबरका चार सय पाँचवटा दाबी परेका छन् । त्यसमा ६४ लाख अग्रिम भुक्तानी गरिएको छ । यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ४७ करोड ६६ लाखबराबरका एक सय चारवटा दाबी परेका छन् । त्यसमा हालसम्म एक लाख ५४ हजार अग्रिम भुक्तानी गरिएको छ । 

कृषि तथा बाली बिमामा चार करोड १४ लाखबराबरका दुई सय १० वटा दाबी परेका छन् । त्यसमा हालसम्म एक लाख अग्रिम भुक्तानी गरिएको छ । यस्तै, मोटर बिमामा दुई करोड ८२ लाखबराबरका ४० वटा दाबी परेका छन् । त्यसमा हालसम्म ४८ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । 

‘नेपाल रि’मार्फत साढे दुई अर्ब भुक्तानी
सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)ले निर्जीवन बिमा कम्पनीहरूलाई दुई अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी दिएको छ । कम्पनीहरूले हुलदंगाको पुनर्बिमा नेपाल रिमै गरेका थिए । त्यसअन्तर्गत नेपाल रिमा कम्पनीहरूले १५ अर्ब ८१ करोडबराबरका २८ सय ६० वटा दाबी गरेका छन् । त्यसमा नेपाल रिले पनि अग्रिम दाबी भुक्तानी दिन सुरु गरेको हो । 
 

See More On

सुझावित समाचार