भारतको आइटी कम्पनीको अगुवाइमा नेपाल, श्रीलंका र बंगलादेशसहित दक्षिण एसियाका देशहरूबाट ‘जेक्टोर’ नामक सामाजिक सञ्जाल एप सार्वजनिक हुन लागेको छ । आइटी कम्पनीका प्रतिनिधिहरूले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग अन्तक्र्रिया गर्दै ‘जेक्टोर’ नामक सामाजिक सञ्जाल एप सार्वजनिक गर्न नेपालसहितका देशहरूमा दर्ताको प्रक्रिया अगाडि बढेको जनाएका छन् ।
प्राविधिक रूपमा सम्पूर्ण काम सकिएपछि भारतमा हाल उक्त एप परीक्षणका लागि प्रयोगमा समेत ल्याइसकिएको छ । नेपालसहित श्रीलंका र बंगलादेशमा ‘जेक्टोर’ नामक सामाजिक डिजिटल प्लाटफर्म एक महिनाभित्र ल्याउने तयारी छ । कम्पनीले ‘जेक्टोर’लाई व्यवहार ट्रयाकिङ नगर्ने तथा प्रयोगकर्ताकेन्द्रित सुरक्षा संरचनामा आधारित ‘स्वतन्त्रता डिजाइन गरिएको प्लाटफर्म’का रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार जिरो नलेज प्रविधिअन्तर्गत सबै व्यक्तिगत सन्देश, मिडिया तथा गतिविधि यति कडा इनक्रिप्टेड हुन्छन्, जसमा प्लाटफर्म स्वयंको पनि पहुँच पुग्दैन । मुख्य धारका कुनै सामाजिक सञ्जालले यस्तो प्रविधि नअपनाएको कम्पनीको दाबी छ । महिलाको फोटो–भिडियो डाउनलोड गर्न नपाइने, नग्नता वा हानिकारक सामग्री पहिचान गरी एआईले तुरुन्तै रोक्ने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।