धान बेच्न पाँच दिनसम्म लाइनमा किसान

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण
धान बेच्न पाँच दिनसम्म लाइनमा किसान

टीकापुरको सत्तीस्थित खाद्यको डिपोअगाडि बिक्रीका लागि सडकमा धान बोकेका ट्रयाक्टर र गाडाको लाइन

  • सरकारले तोकेको समर्थन मूल्य गल्ला व्यापारीले दिने भाउभन्दा बढी भएकाले किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद केन्द्रमा धान बेच्न चाहन्छन्, तर कैलालीमा खाद्यले खरिदको निश्चित कोटा मात्रै तोकेकाले एकैपटक धेरै किसानको लाइन लागेको छ

रोपाइँ गर्दादेखि नै सिँचाइ र मलको अभाव झेल्दै बल्लतल्ल उब्जाएको धान बेच्न पनि किसानले कष्ट भोग्नुपरेको छ । ट्रयाक्टर र गाडामा धान लोड गरेर सडकछेउमा लागेको यो लाइन कैलाली जोशीपुरको हो । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खरिद केन्द्रमा धान बिक्री गर्न किसान पाँच दिनसम्म पालो कुर्न बाध्य छन्, उनीहरू राति पनि त्यहीँ सुत्छन् ।

गल्ला व्यापारीले खाद्यले जति भाउ दिँदैनन् । खाद्यले सरकारले तोकेको दररेटमा खरिद गर्छ । तर, खाद्यले खरिदको निश्चित कोटा तोकेकाले किसानहरू एकैपटक बिक्रीका लागि लाग्दा भिड बढेको हो । यो वर्ष खाद्यले कैलालीमा ३५ हजार क्विन्टल मात्रै खरिदको कोटा निर्धारण गरेको छ । जिल्लाका ६ ठाउँ धनगढीको मोहनपुर, गौरीगंगा नगरपालिकाको मसुरिया, टीकापुर नगरपालिकाको टीकापुर र सत्ती तथा जोशीपुर र भजनीमा खाद्यले खरिद केन्द्र राखेको छ । खाद्यको प्रादेशिक कार्यालय धनगढीका अनुसार ६ वटै खरिद केन्द्रमा धान बेच्ने किसानको अत्यधिक भिड छ । 

गोदावरी नगरपालिका गेटाका किसान तुल्सी रानाले धनगढीको मोहनपुर डिपोमा धान बेच्न चार दिनसम्म सडकमा पालो कुरेपछि पाँचौँ दिन सोमबार मात्रै बिक्री गर्न पाए । ट्रयाक्टरमा ६० बोरा धान राखेर बिहीबार बिहान ४ बजे नै उनी डिपोमा पुगेका थिए । तर, अगाडि दर्जनौँ गाडीको लाइन भएकाले उनले पाँच दिन कुर्नुपरेको हो ।

‘गल्ला व्यापारीले भन्दा केही राम्रो भाउ पाइन्छ भनेर खाद्यमा बेच्न ल्याइयो, तर पाँच दिनसम्म पालो लाग्नुपर्ने दु:ख सुनाइसाध्ये छैन,’ रानाले भने, ‘खरिद डिपोमा काँटा एउटै छ, काम गर्ने मान्छे पनि कम छन्, त्यसैले ढिला भएको हो ।’ मोहनपुर डिपोमै भेटिएका धनगढी उपमहानगरपालिका– ११, घोडसुवाका किसान बुद्धिराम चौधरीले धान बिक्री गर्न निकै हैरानी खेप्नुपरेको गुनासो गरे । ‘गल्लाभन्दा यहाँ राम्रो मूल्य पाइन्छ भन्ने आसले आएको दु:ख पाइयो,’ उनले भने ।

धान खरिदका लागि बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म केन्द्रहरू खुल्ने गरेका छन् । तर, केन्द्रमा काँटा र कर्मचारी कम छन् । सत्तीस्थित डिपोमा धान बिक्रीका लागि पुगेका टीकापुर नगरपालिका– ५, वसन्ताका भावनसिंह थारूले पनि सास्ती भोग्नुपर्यो । पाँच दिन लाइन बसेर धान बेचेको उनले सुनाए ।

‘पाँच दिनसम्म पालो कुरेर बल्लतल्ल धान बेचेँ, अझै कैयौँ किसान लाइनमै छन्,’ उनले भने, ‘सरकारले खरिद केन्द्रमा कर्मचारी थपेर चार–पाँचवटा काँटा राखिदिएको भए यस्तो सास्ती भोग्नुपर्ने थिएन होला ।’ धानको सुरक्षाका लागि पनि राति बाटोमै सुत्नुपरेको थारूले बताए । 

धनगढी डिपोमा धान बोकेका ट्रयाक्टर र गोरुगाडा डिपोको पर्खालभित्रै राखिएकाले त्यहाँ भने किसानले राति कुर्न पर्दैन । टोकन उपलब्ध गराएकाले बिहान गएर दिनभर मात्रै उनीहरू पालो कुर्छन् । अन्यत्र डिपोमा भने सडकमै लाइन लाग्नुपर्ने र धानको सुरक्षाका लागि सडकमै रातभर सुत्नुपर्ने बाध्यता छ । 

खाद्यले गत वर्ष ५५ हजार क्विन्टल कोटा निर्धारण गरेकामा किसानबाट ३४ हजार क्विन्टल मात्रै बिक्री भएकाले यसपालि घटाएको जनाएको छ । तर, गत वर्ष खाद्यले खरिद सुरु गरेपछि गल्ला व्यापारीले पनि मूल्य बढाउँदा कतिपय किसानले व्यापारीलाई नै बेच्दा त्यस्तो भएको थियो । यसपालि धान खरिद थालेको दुई साता नपुग्दै शनिबारसम्म जिल्लाभरबाट १५ हजार ४३० क्विन्टल खरिद गरिएको कार्यालयले जनाएको छ । 

सरकारले तोकेको समर्थन मूल्यअनुसार खाद्यले मोटो धान प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँमा खरिद गरिरहेको छ । व्यापारीले भने उक्त धानलाई प्रतिक्विन्टल दुई हजार ७५० रुपैयाँ मात्रै दिएका छन् । 

‘विगतमा खाद्यले मूल्य बढाएपछि व्यापारीले पनि बढाउँथे, यसपालि व्यापारीले मूल्य नबढाएका कारण खाद्यका खरिद केन्द्रहरूमा किसानको अत्यधिक भिड देखिएको छ,’ खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भने, ‘खाद्य र गल्ला व्यापारीले दिने धानको मूल्यमा धेरै अन्तर छ । खाद्यले खरिद गर्ने कोटा सकिएला भन्ने डरले एकैपटक धेरै किसान आएका छन् ।’ 

किसानको भिड व्यवस्थित गर्न कुपनको व्यवस्था गरिएको पनि उनले बताए । तर, किसानहरू खाद्यमै आएर रातदिन लाइन बस्ने गरेको थापा बताउँछन् । ‘टोकनअनुसार आउने पालोमा मात्रै धान ल्याउनुहोला भनेर किसानलाई कर्मचारीको सम्पर्क नम्बरसमेत दिने गरिएको छ, तर किसानहरू धान नै ल्याएर लाइनमा बस्नुहुन्छ,’ उनले भने । थापाले किसानको भिड बढेकाले धान खरिदको कोटा बढाउन पनि केन्द्रलाई आग्रह गरिएको बताए ।
 

See More On

सुझावित समाचार