नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता कायम गराउन मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलगायतका मन्त्रीहरूको उपस्थितिमा अध्यक्ष ढकालले लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गरी यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका हुन् । आगजनी, लुटपाट तथा तोडफोडमा संलग्नलाई कडाभन्दा कडा कारबाही नगरे दण्डहीनता मौलाउने उद्योग उनले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले आशंका र भय छाडेर आत्मविश्वाससाथ काम गर्न आग्रह गरेकी छिन् । उनले व्यवसाय गर्ने वातावरण सुधार्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु । डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् ।
तपाईंहरूले आशंका र भय पाल्ने वेला होइन । हातेमालो गर्ने वेला हो,’ उनले भनिन्, ‘विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ ।’
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले रोजगारी सिर्जना गर्नेलगायतका धेरै क्षेत्रमा सरकार र निजी क्षेत्र साझेदार भएको बताए । निजी क्षेत्रको मनोबल बढाउन सरकार सकारात्मक भएको बताउँदै उनले पूर्ण लेखा परीक्षण गर्नुपर्ने व्यवस्था तत्काललाई स्थगित गरिएको बताए । यस्तै, स्थानीय तहबाट प्यान नम्बर लिने व्यवस्था गरिएको पनि उनको भनाइ छ । यसले व्यवसाय गर्न सहज हुने उनको भनाइ छ । अर्थतन्त्रमा पनि सही सूचना प्रवाह हुनुपर्ने उनले बताए । ‘गलत सूचना प्रवाह गर्दा सेयर बजारमा अस्वाभाविक रूपमा थपघट हुन सक्छ । सम्पत्तिको मूल्य घट्न सक्छ । गलत सूचनाले विभिन्न रूपमा अर्थतन्त्र प्रभावित बनाउन सक्छ,’ उनले भने, ‘तसर्थ, सही सूचना प्रवाह गर्नुपर्छ ।’ गलत सूचनाका कारण पनि जेन–जी आन्दोलनमा निजी क्षेत्रले दु:ख भोग्नुपरेको उनको भनाइ छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले व्यापार–व्यवसायको सुरक्षामा सरकार सकारात्मक रहेको बताए । ‘व्यवसायी डराउनुपर्दैन । लगानी र लगानीकर्ताको सुरक्षामा सरकार गम्भीर छ,’ उनले भने, ‘आन्दोलनमा लुटिएका हातहतियार फिर्ता भइरहेका छन् । अहिले अवस्था पनि सामान्य बन्दै गएको छ । निजी क्षेत्रको सुरक्षामा पनि सरकार सकारात्मक छ ।’
यस्तै, कानुनमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अर्थतन्त्र चलायमान बनाउने गरी नीतिगत व्यवस्था गरिने बताए । कानुनले धेरै विषयमा नियन्त्रण गर्दा पनि अर्थतन्त्र प्रभावित भइरहेको उनको भनाइ छ । त्यस्ता कानुनी पक्ष पत्ता लगाएर सुधार गरिने पनि उनले बताए । अहिले कानुन नै संशोधन गर्न सम्भव छैन । यद्यपि, नीतिगत र प्रशासनिक सुधारबाट निजी क्षेत्रलाई सहयोग गरिने उनको भनाइ छ । यस्तै, मुख्य सचिव एकनारायण अर्यालले पनि निजी क्षेत्र र सरकारबिच सहकार्य हुनुपर्ने बताए । निजी क्षेत्रले उत्पादनदेखि रोजगारीसम्म योगदान दिएको बताउँदै सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताए । ‘राष्ट्र बैंकमा निजी क्षेत्रबाट धेरै माग आइरहेको छ । त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘कालोसूचीमा ठुलो संख्यामा ऋणी पर्नु चिन्ताका रूपमा मैले लिएको छु । १८ लाख ऋणी हुँदा डेढभन्दा धेरै कालोसूचीमा छन् । यो भएपछि कसले ऋण लिन्छ ? यसकारण पनि कर्जाको माग नभएको हुन सक्छ,’ उनले बताए ।
यस्तै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघबाट आर्थिक पुनर्निर्माण एवं पुनरुत्थान योजना बनाउने काम भइरहेको बताए । ‘त्यसमा पुनर्निर्माण, करिब तीन वर्षदेखिको न्यून माग बढाउने उपायलगायतका विषय यसमा समेटिनेछन् । यसको कार्यान्वयनका लागि पनि आग्रह गर्छु,’ उने भने, ‘यसले आमपब्लिकमा निजी क्षेत्रको योगदान र महत्व दर्साई भोलिको पुस्तासम्मलाई सकारात्मक सन्देश पनि दिनेछ ।’ यस्तै, उनले सुशासन कायम हुनुपर्ने पनि बताए । ‘हामी सरकारको खर्च नहुने, तर व्यावसायिक वातावरण तयार हुने अन्य केही निर्णय र सहुलियतको आग्रह गर्न चाहिरहेका छौँ । दोस्रो सुशासनको विषय हो,’ उनले भने, ‘महासंघले निरन्तर यो विषय उठाउँदै आएको छ । सुशासन कायम गर्न निजी क्षेत्रसमेतको सहभागितामा सुशासन संयन्त्र निर्माणका लागि आग्रह गर्छु ।’
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने भन्दै शान्ति सुरक्षाको विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले आन्दोलनपछिको अवस्थाले उद्योगी–व्यवसायीको मनोबल कमजोर भएको बताउँदै आर्थिक समृद्धिका लागि सुरक्षा र स्थायित्व आवश्यक भएको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकार, निजी क्षेत्रबिचको निरन्तर संवादले देशलाई असुरक्षा र अनिश्चितताबाट निकाल्न सकिने बताए ।