नवलपुरको हुप्सेकोट र मध्यविन्दु नगरपालिकामा जनप्रतिनिधिहरूको घर जलाउनेविरुद्ध यहाँका जनप्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रमाणसहित किटानी जाहेरी दिएका छन् । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डे, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरीको घर भदौ २४ गते राति जेन–जी आन्दोलनको नाममा आगजनी र तोडफोड भएकाे थियाे ।
हुप्सेकोट गाउँपालिकामा आगजनी र तोडफोड गर्ने पाँचजना र मध्यविन्दु नगरपालिकामा आगजनी र तोडफोड गर्ने १५ जना गरी २० जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरूले किटानी जाहेरीमा उल्लेख गरिएका नाम भने गोप्य राखेका छन्। मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधिहरूको टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्कालाई प्रमाणसहित किटानी जाहेरी दिएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले आफूहरूले घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउने बताए । प्रहरीले किटानी जाहेरी लिए पनि जाहेरी भने दर्ता गरेको छैन। मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले देशमा शान्ति सुव्यवस्था कायम गर्न आफूहरूले शान्तिपूर्ण तरिकाले आफ्नो माग राखेको र तत्काल कारबाही अगाडि नबढाइए आफूहरूले थप संघर्ष गर्ने चेतावनी दिए।
हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले संघीय सरकारले आफूहरूको मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै सरकारले आन्दोलनका क्रममा आगजनी र तोडफोडजस्ता अराजक गतिविधि गर्नेलाई कारबाही गरेर सुशासन कायम गर्नुपर्नेमा जोड दिए। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते राति हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, नगर उपप्रमुख पूर्णकला चौधरीको घर पूर्ण रूपमा जलेर क्षति भएको थियो भने मध्यविन्दु नगरप्रमुख भिमलाल अधिकारीको घरको तल्लो तला पूर्ण रूपमा जलेर नष्ट भएको थियो । तीनजना नै जनप्रतिनिधिहरूको घरमा ५०–५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरीको घर नगरपालिकाका जनप्रतिनिधिहरूले आर्थिक सहयोग संकलन गरी पुनर्निर्माण गरिदिएका छन् ।