- एपिएफ क्लबले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबमाथि ७–० को सहज जित निकाल्दै झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ
नेपाल एपिएफ क्लबले मंगलबार सिक्किमको सिङलिङ स्पोटिङ क्लबमाथि ७–० को सहज जित निकाल्दै झापा माहिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । दुधे रंगशालामा विदेशी टोली सिङलिङ स्पोटिङविरुद्ध स्ट्राइकर रश्मिकुमारी घिसिङले ह्याट्रिक लगाएकी थिइन् । अव एपिएफले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मी र आरएस पोखरा एफसीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपिएफको जितमा कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । सविता राना मगर र अनिता बस्नेतले समान एक गोल गरे ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका अधिकांश खेलाडी रहेको एपिएफसामु विद्यालय र जिल्ला स्तरका खेलाडी समावेश गरेर आएको सिक्किम निरिह बन्न पुग्यो । एपिएफले पहिलो हाफमा पाँच र दोस्रो हाफमा सिक्किमको पोस्टमा दुई गोल गरेको थियो । सिक्किमविरुद्ध एपिएफले खेलको २९औँ मिनेटमा १–० को अग्रता बनायो । सविता रानाले कप्तान अनिताको क्रममा पहिलो बारमा गोल गरेकी हुन् ।
खेलको ३८औँ मिनेटमा एपिएफकी कप्तान अनिताले २–० को अग्रता दिलाइन् । अनिता केसीले डिबक्सबाहिरबाट दिएको क्रसमा डिबक्सभित्र अनमार्क रहेकी बस्नेतले दोस्रोको कुना च्याप्दै गोल गरेकी हुन् । खेलको ४१ औँ मिनेटमा रश्मि कुमारीले व्यक्तिगत पहिलो गोल गरिन् । उनले सविता रानाको पासमा गोल गरेकी हुन् । पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारीले टोलीलाई ४–० को अग्रता दिलाइन् । उनले यसपटक सिक्किमका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् ।
इन्जुरी समयमै कप्तान बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफ ५–० ले अघि रह्यो । एपिएफको दबाबका कारण निकै थकित देखिएको सिक्किमका खेलाडीले दोस्रो हाफमा केही सम्हालिएर खेल्यो । खेलको ७१औँ मिनेटमा एपिएफकी अनिता केसीले ६–० का लागि गोल गरिन् । खेलको ८४औँ मिनेटमा रश्मिकुमारीले आफ्नो ह्याट्रिक पूरा गरिन् । सिक्किमका खेलाडीले एपिएफको बलियो डिफेन्सलाई तोड्न सकेन । खेलको ८०औँ मिनेटमा सिक्किमकी सुक्रिया मगरले एपिएफकी वैकल्पिक गोलरक्षक सावित्री किसानसँग वान भर्सेस वानमा गोल गर्न सकिनन् ।
खेलाडीले राम्रो प्रदर्शन गरे : जीवेशकुमार पाण्डे, प्रशिक्षक, एपिएफ
हामी केही अन्तर्राष्ट्रिय खेलपछि घरेलु प्रतियोगिता खेल्दै छौँ । समग्रमा खेलाडीले राम्रो प्रदर्शन गरे । विपक्षी टिमजस्तो भए पनि हामीले हाम्रो रणनीतिअनुसार खेल खेल्ने हो । खेलाडीले पनि रणनीतिअनुसार खेले । हाम्रा सबै खेलाडी राम्रा छन् । बेन्च पनि राम्रो छ । हामीले घरेलु प्रतियोगिताको उपाधि जित्दै आएका छौँ । यसपटक पनि यसलाई निरन्तरता दिने लक्ष्य छ । हामी यो प्रतियोगितापछि साफ क्लब च्याम्पियन्सिप खेल्दै छौँ ।
हामी अनुभवका लागि खेल्न आएका थियौँ : लाकु फुटी भुटिया, प्रशिक्षक, सिक्किम
हाम्रा लागि एपिएफ डर लाग्दो चुनौती हो । हामी विद्यालय र जिल्लास्तरमा खेल्ने खेलाडी लिएर आएका थियौँ । यहाँ हामी अनुभवका लागि खेल्न आएका हौँ । एपिएफमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी छन् । खेलाडीले सुरुमा गोल खाँदा अतालिए । दोस्रो हाफमा चाहिँ हाम्रो रणनीतिअनुसार नै खेले । दोस्रो हाफ केही राम्रो भयो । हाम्रा खेलाडीले जुन प्रदर्शन दिनुपर्ने हो त्यो दोस्रो हाफमा मात्र दिन सके ।