सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत मनाङस्थित नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयमा सञ्चालित उच्च भू-भाग खोज तथा उद्धार तालिम का प्रशिक्षार्थीले मनाङ जिल्लामा अवस्थित ६०३८ मिटर उचाइको चुलू फार इस्ट हिमाल सफल आरोहण गरेका छन्।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीको नेतृत्वमा ३२ जनाको टोलीले ३० असोजमा सफल आरोहण गरेको हो।
यसअघि, तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा ७ जनाको प्रशिक्षक टोलीले आश्विन २५ गते नै सो हिमालको सफल आरोहण गरेको थियो।
यो तालिम सशस्त्र प्रहरी बल नेपालद्वारा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित विपत् व्यवस्थापन तथा उद्धार कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित गरिएको हो। तालिम प्राप्त प्रहरी कर्मचारीलाई उत्तरी सिमानानजिक रहेका उच्च भू–भागका बोर्डर आउट पोस्ट(बिओपी) तथा अन्य पर्वतीय क्षेत्रहरूमा आवश्यकतानुसार खटाइने सशस्त्र प्रहरीको योजना छ ।
तालिमको दौरान प्रशिक्षार्थीहरूलाई मेडिकल फर्स्ट एड, रोप रेस्क्यु, रक क्लाइम्बिङ, माउन्टेन मार्च, आइस क्राफ्ट, उच्च भूभाग खोज तथा उद्धार र हिमाल आरोहणसम्बन्धी विविध व्यावहारिक तालिम प्रदान गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमै पहिलोपटक सञ्चालनमा ल्याइएको यस किसिमको विशेष पर्वतीय उद्धार तालिमलाई संस्थागत रूपमा निरन्तरता दिई भविष्यमा थप दक्ष माउन्टेन रेस्क्यूअर उत्पादन गर्ने योजना सशस्त्र प्रहरीको छ ।
यो तालिमले सशस्त्र प्रहरी कर्मचारीहरूको हिमाली क्षेत्रमा उद्धार क्षमतामा अभूतपूर्व वृद्धि सशस्त्र प्रहरी अधिकारी बताउँछन् । जसले पर्यटक, पथप्रदर्शक, आरोही तथा स्थानिय बासिन्दाहरूलाई आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न सहयोग पुर्याउनेछ। यसमार्फत हिमाली पर्यटकीय क्षेत्रमा सुरक्षाको अनुभूति र विश्वास समेत सुदृढ हुने उनीहरुको भनाई छ ।