विश्व कराँते छनोटमा चार नेपाली खेलाडीले खेल्ने

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

विश्व कराँते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चारजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । फ्रान्सको पेरिसमा १७ देखि १९ अक्टोबरसम्म हुने छनोट प्रतियोगितामा ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ । एक पुरुष र ३ महिला खेलाडीले नोपलबाट प्रतिस्पर्धा गर्नेछन् ।

स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् । महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सबिना श्रेष्ठले चुनौती पेस गर्नेछन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सबिनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको कायरोमा २७ देखि ३० नोभेम्बरसम्म हुने २७औँ विश्व कराँते च्याम्पियनसिपमा छनोट हुनेछन् । छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउनेछन् । 

बाँकी दुईजना खेलाडी विश्वविद्यालय कोटाबाट छानिनेछन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ जना खेलाडी सहभागी हुनेछन् । नेपालबाट सानुमाया थिङले इजिप्टको यात्रा पक्का गरिसकेकी छिन् । सानुमायाले महिला एकल कातामा खेल्नेछिन् । टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् ।

पेरिसमै १६ अक्टोबरमा हुने प्रशिक्षक परीक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जानेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले छनोट प्रतियोतिगामा सहभागी हुने टोलीको बिदाई गरेका छन् । घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताए ।

See More On

सुझावित समाचार