रसुवागढीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा : दुई साताभित्र नाका सञ्चालनमा ल्याइने

तीन महिनादेखि सुस्ताएको चीनसँगको व्यापार चलायमान हुने अपेक्षा

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

रसुवास्थित नेपाल–चीन सीमाको लेन्देखोलामा चीनले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । अब दुई सातामा बेलिब्रिजको निर्माण सम्पन्न गरेर रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने तयारी रहेको छ । यससम्बन्धी सबै काम चीनले नै गरिरहेको छ । 

गत २४ असारमा चीनतर्फबाट आएको बाढीले नाकामा रहेको १० मिटर चौडाइ र एक सय मिटर लामो मितेरी पुल बगाएको थियो । त्यसपछि रसुवागढी–केरुङ नाका बन्द अवस्थामा छ । नेपाल र चीनबिच हुने व्यापारका लागि रसुवागढी–केरुङ नै प्रमुख नाका थियो । तर, बाढीले पुल बगाएपछि नेपाल र चीनको व्यापार तीन महिनादेखि प्रभावित भएको छ । दुवैतर्फ कन्टेनेरहरू रोकिएका छन् । त्यसपछि वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका खुला गरिए पनि प्रभावकारी बन्न सकेको छैन । 

रसुवागढी नाका बाढीबाट प्रभावित भएलगत्तै चीनले बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाएको थियो । आवश्यक तयारी गरेर गत २७ भदौबाट बेलिब्रिज जडानका काम सुरु गरिएको थियो, जुन अहिले अन्तिम चरणमा पुगिसकेको छ । तिहार 
(कात्तिक ६) आसपासमा बेलिब्रिजको निर्माण सम्पन्न गरेर नाका सञ्चालनमा ल्याउने तयारी रहेको छ । नाका सञ्चालनमा आएपछि चीनतर्फको व्यापार सहज हुनेछ । 

बेलिब्रिजको लम्बाइ ९० मिटरको हुनेछ । पुलको भारवहन क्षमता भने ५५ टन हुनेछ । चीनतर्फ एप्रोज सडक (पुल र सडक जोड्ने खण्ड)समेत बनिसकेको छ । नेपालतर्फको झन्डै २० मिटर लामो एप्रोज सडक बनाउन भने बाँकी छ । बेलिब्रिज जडान भएपछि एप्रोच सडक निर्माण गरिनेछ । त्यसको काम गर्न भने धेरै समय नलाग्ने बताइएको छ । 

रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘लेन्देखोला बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चिनियाँ पक्षले तिहारअघि नै पुल निर्माण गर्ने गरी काम गरिरहेको देखिन्छ । तर, कहिले निर्माण सकिन्छ भनेर हामीले भन्न सक्ने अवस्था छैन । तर, तिहारआसपासमा बेलिब्रिजको निर्माण सकिन्छ,’ उनले भने, ‘त्यससँगै रसुवागढी–केरुङ नाका पनि सञ्चालनमा आउनेछ ।’

असार २४ कै बाढीले उक्त नाका र काठमाडौं जोड्ने पासाङ ल्हामु राजमार्गको विभिन्न खण्डमा अवरुद्ध भएको थियो । त्यो अवरुद्ध खुला भए पनि पछिल्लोपटक १७, १८ र १९ असोजमा आएको बाढीपहिरोले स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ । यद्यपि, बेलिब्रिज निर्माण भइसक्दा अवरुद्ध सडक पनि खुला हुने सहायक प्रमुख जिल्ला अधिकारीले बताए । त्यस खण्डमा आइतबार साना गाडी छिर्ने गरी अवरुद्ध खुलाइएको छ ।

यद्यपि, सडक सफा गरेर ठुला गाडीलाई बाटो खुला गर्न बाँकी छ । यस्तै, बाढीले कुलुङ पुलको फाउन्डेसन पनि प्रभावित बनाएको छ । त्यसलाई मर्मत–सम्भार गर्न अझै एक साता समय लाग्नेछ । बेलिब्रिज बनिसक्दा कुलुङ पुलको मर्मत–सम्भार भइसक्ने सडक परियोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । ‘नाकामा चीनले नै बेलिब्रिज बनाइरहेको छ । हामीले भने सडक अवरुद्ध खुलाउने तथा मर्मत–सम्भार गर्ने काम गरेका छौँ । बेलिब्रिज बनिसक्दा सडकको मर्मत–सम्भार पनि सकिन्छ,’ उनले बताए । 

पक्की पुल चीनले नै बनाउने 
बेलिब्रिज अस्थायी पुल मात्रै हो । त्यहाँ स्थायी रूपमा पक्की पुल नै बनाउनुपर्नेछ । त्यो पनि चीनले नै बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार यसबारे औपचारिक सम्झौता हुन भने बाँकी छ । 

मितेरी पुल पहिला पनि चीनले नै बनाएको थियो । चीनले सन् १९६२–१९६४ मा यो मितेरी पुल बनाएको थियो । पछि २०१९ मा यसलाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो । त्यसको ६ वर्षमा बाढीले बगाएको थियो । अब त्यहाँ स्थायी रूपमा नयाँ पक्की पुल नै बनाउनुपर्नेछ, त्यो पनि चीनले नै बनाउने मन्त्रालयका एक उच्च अधिकारीले बताए । 

‘भारत र र चीन सीमानाकाका पक्की पुलहरू छिमेकी मुलुककै सहयोगमा बनाउने अभ्यास छ । चीनतर्फ नाकामा भएका पुल यसअघि पनि चीनले नै बनाएको हो । अब रसुवागढीमा पनि चीनले नै पक्की पुल बनाउनेछ । यसका लागि द्विपक्षीय छलफल तथा वार्ता भइरहेको छ,’ स्रोतले भन्यो, ‘यसले औपचारिक पाउन भने बाँकी छ । तर, नयाँ पुल पनि चीनले नै बनाउनेछ । यसमा हामी ढुक्क छौँ ।’

 रसुवा नाकाबाट हुने वैदेशिक व्यापारमा गिरावट
चालू आवको दुई महिनामा रसुवा नाकाबाट ३७ करोड ५६ लाख ४१ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । बाढीले पुल र बाटो बगाएका कारण सो अवधिमा मानिसले नै बोकेर सामान आयात गरिएको थियो । यो अवधिमा रसुवा नाकाबाट निर्यात भने शून्य नै रहेको छ । गत आवको दुई महिनामा उक्त नाकाबाट ११ अर्ब ५४ करोड ५१ लाख ३२ हजार रुपैयाँको आयात भएको थियो । निर्यात भने १७ करोड ७५ लाख ३५ हजार रुपैयाँको भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । गत आवभर उक्त नाकाबाट ८५ अर्ब २३ करोड २३ लाख ६० हजारको आयात र दुई अर्ब चार करोड ५२ लाख ६१ हजार रुपैयाँबराबरको निर्यात भएको थियो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी भन्छन्– लेन्देखोला बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चिनियाँ पक्षले तिहारअघि नै पुल निर्माण गर्ने गरी काम गरिरहेको देखिन्छ । तिहारआसपासमा बेलिब्रिजको निर्माण सकिन्छ, त्यससँगै रसुवागढी–केरुङ नाका पनि सञ्चालनमा आउनेछ । बाढीपहिरोले स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ । यद्यपि, बेलिब्रिज निर्माण भइसक्दा अवरुद्ध सडक पनि खुला हुनेछ ।

सुझावित समाचार