कमजोर मनस्थितिबिच ट्राफिक व्यवस्थापनमा प्रहरी

उपत्यकामा ट्राफिक लयमा फर्कँदै गरे पनि प्रहरीलाई गाँसबासकै समस्या, प्रविधि प्रयोगमा अवरोध हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण
कमजोर मनस्थितिबिच ट्राफिक व्यवस्थापनमा प्रहरी

सिंहदरबारमा ट्राफिक व्यवस्थापन गर्दै प्रहरी । तस्बिर : अमुल थापा

जेन–जी प्रदर्शनका कारण अस्तव्यस्त बनेको उपत्यकाको ट्राफिक व्यवस्थापन बिस्तारै सामान्य बन्दै गएको छ । तर, प्रतिकूल परिस्थिति र कमजोर मनस्थितिबिच सडकमा खटिएका ट्राफिक प्रहरी आफैँ भने गाँसबासको गम्भीर समस्यामा छन् । 

यति वेला उनीहरूसँग न वाकी–टकी छ, न सञ्चार सेट नै । भोक लाग्दा खान पाउने निश्चित स्थान छैन, थाक्दा आराम गर्ने ठाउँ छैन । दिनभर सडकमा हात हल्लाउँदै ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीको दैनिकी दयनीय बनेको छ ।जेन–जी आन्दोलनताका ट्राफिक प्रहरी कार्यालय, मेस र आवाससमेतमा तोडफोड र आगजनी भएपछि करिब १५ सय ट्राफिक प्रहरी तत्कालै बासविहीन भएका थिए । कोही साथीभाइ वा आफन्तकोमा टेकेर बसेका छन् भने कोही डेरामा सरेका छन् । कार्यालय, मेस र आवास जलेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अस्थायी रूपमा केहीलाई पार्टी प्यालेसमा राखेको छ । तर, त्यहाँ सबैलाई अटाउन नसकेपछि धेरैलाई आफैँ व्यवस्था गर्न भनिएको छ ।

‘उपत्यकामा अधिकांश ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएका छन् । अहिले प्रहरीलाई खाने र बस्ने ठाउँको समेत गम्भीर समस्या छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले नयाँ पत्रिकासँग भने, ‘पार्टी प्यालेसमा केहीलाई राखिएको छ, तर सबैलाई लामो समय त्यहाँ राख्न सकिँदैन ।’


उपत्यकाका तीन जिल्लामा १६ सय २३ ट्राफिक प्रहरी छन् । त्यसमध्ये १५ सय ट्राफिक काममा फर्किसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तर, जनशक्ति भए पनि उपकरण नहुँदा ट्राफिक व्यवस्थापनको काम कठिन छ ।

उपत्यकाका तीन जिल्लामा एक हजार ६२३ ट्राफिक प्रहरी छन् । त्यसमध्ये एक हजार पाँच सय ट्राफिक काममा फर्किसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तर, जनशक्ति भए पनि उपकरण नहुँदा ट्राफिक व्यवस्थापनको काम कठिन छ ।

आन्दोलनका क्रममा सडकमा राखिएका आइल्यान्ड र डिभाइडर भत्काइएका छन् । सडक चिह्न मेटिएको छ । ट्राफिक लाइट र सिसिक्यामेरामा तोडफोड भएको छ । सवारीसाधन जलेका छन्, सञ्चार सेट र पोसाकसमेत लुटिएका छन् । कन्ट्रोल रुम फुटाइएको छ, त्यहाँ भएका उपकरण चोरी भएका छन् । ‘सिसिक्यामेरा कन्ट्रोल र विश्लेषण गर्ने कक्ष तोडफोड हुँदा त्यसको प्रयोग बन्द छ,’ एसपी गिरीले भने, ‘त्यसमाथि चालकहरू अनुशासनमा नबस्दा ट्राफिक प्रहरी व्यवस्थापन कठिन नै छ ।’

जेन–जी प्रदर्शनका क्रममा ट्राफिक प्रहरीकोे पोसाकदेखि वाकी–टकीसमेत लुटिएका थिए । पोसाक लुटिएपछि बुधबारसम्म त उपत्यकाका अधिकांश चोकमा सादा पोसाकमा ट्राफिक प्रहरी खटिएका थिए । तर, बिहीबार भने प्रहरी प्रधान कार्यालयले पोसाक वितरण गरेका कारण अधिकांश प्रहरी पोसाकमै देखिए । 

‘कतिपयको पोसाक र बुट लुटिएको थियो । प्रहरी प्रधान कार्यालयसँग माग गरेर प्रहरीलाई वितरण भइसकेको छ,’ एसपी गिरीले भने, ‘सबैजसो चोकमा प्रहरी खटिइसकेका छन्, तर, उपकरण नभएकाले चाहिँ गाह्रो भएको छ । साधनसा्रेत पहिलेजस्तो छैन । तर, जनशक्ति भने पुरानै अनुपातमा छ ।’ 

उनले अहिले ट्राफिक प्रहरीले पूर्ण क्षमतामा काम गर्न नसक्ने भएकाले चालकहरूलाई अनुशासनमा बसेर सवारीसाधन चलाउन अनुरोध पनि गरे । उनका अनुसार सामान्य ट्राफिक नियम मिच्नेलाई चिट काट्ने वा तत्काल कारबाही गर्न सक्ने गरी प्रहरी तयार छैन । सोही कारण पनि यसमा चालक सचेत हुनुपर्ने प्रवक्ता गिरीको भनाइ छ । सिसिक्यामेरा नहुँदा कुनै भवितव्य घटना, दुर्घटना भएमा तत्काल कारबाही गर्न वा घटना विश्लेषण गर्न कठिन हुने अवस्था रहेको कार्यालयले जनाएको छ । तर, सिसिक्यामेरा मर्मत गर्ने, थप गर्ने र छिटोभन्दा छिटो कन्ट्रोल रुम मर्मत गर्ने तयारी कार्यालयले गरिरहेको छ । 

अहिले प्रहरीलाई खाने र बस्ने ठाउँको समस्या छ
नरेशराज सुवेदी (एसपी) प्रवक्ता, काठमाडौं उपत्यका 

ट्राफिक प्रहरी कार्यालय उपत्यकाका अधिकांश ट्राफिक प्रहरी कार्यालय जलेका थिए, त्यहाँ मर्मतसम्भार गर्ने र दिनमा त्यहीँबाट ड्युटी गर्ने क्रम पनि सुरु भइसकेको छ, अहिले प्रहरीलाई खाने र बस्ने ठाउँको समेत समस्या छ । पार्टी प्यालेसमा केहीलाई राखिएको छ, बिस्तारै कार्यालय मर्मत भएपछि त्यहीँ बसोबास र खानपान गर्न सक्ने अवस्था हुन्छ ।

कन्ट्रोल रुम आगजनीले नष्ट, अधिकांश सिसिक्यामेरा फुटाइए
करिब दुई सयभन्दा बढी सिसिक्यामेरा मनिटरिङ हुँदै आएकोमा अहिले अधिकांश बन्द छन् । ७२ स्थानमा राखिएका ट्राफिक लाइटमध्ये आन्दोलनअघि ४३ वटा सञ्चालनमा थिए । तर, प्रदर्शनका क्रममा अधिकांश ट्राफिक लाइट तोडफोड भएका छन् ।

सुझावित समाचार