सार्वजनिक यातायात ठप्प, हजारौँ यात्रु काठमाडौंमै अलपत्र

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

गोंगबु बसपार्कबाट दैनिक दुई हजार पाँच सय सार्वजनिक सवारी यात्रु लिएर काठमाडौंबाट बाहिरिन्थे 

नेपालगन्जका जगत डाँगी वैदेशिक रोजगार प्रयोजनका लागि ‘मेडिकल चेकअप’ गर्न सोमबार बिहान मात्रै काठमाडौं आएका थिए । तर, सोमबारदेखि नै काठमाडौंमा सुरु भएको जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न सकेनन् । दुईदिने जेन–जी आन्दोलनका कारण मंगलबारदेखि नै सार्वजनिक यातायात अनिश्चितकालीन रूपमा बन्द भएका छन् । त्यसपछि राजधानीलगायतका देशका विभिन्न ठाउँमा निषेधाज्ञा तथा कर्फ्यु लगाएपछि छोटो तथा लामो दूरीको सार्वजनिक यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । अचानक मुलुकको परिस्थितिमा परिवर्तन भएपछि डाँगीले तत्काललाई ‘स्वास्थ्य चेकजाँच’ गर्ने कार्य स्थगन गरेका छन् । तर, गाडी सेवा बन्द हुँदा उनी घर फर्किन पनि सकेका छैनन् ।

सोमबारदेखि उनी गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु प्रतीक्षालयमा बसेका छन् । त्यो क्रममा २४ हजार नगद चोरीसमेत भएको उनको भनाइ छ । ‘म यही प्रतीक्षालयमा सुतेको थिएँ । मेरो झोला, मोबाइल र २४ हजार नगद हरायो । त्यसपछि खाना, बस्नसमेत पैसा छैन । यही प्रतीक्षालयमा बसेको छु,’ उनले भने, ‘एउटा ड्राइभरले नि:शुल्क नेपालगन्जसम्म लगिदिन्छु भन्नुभएको छ । तर, गाडी नखुल्दासम्म म अलपत्र अवस्थामा छु ।’

यस्तै, नेपालगन्जकै विक्रम सुनार मजदुरीका लागि एक महिनाअघि काठमाडौं आएका थिए । तर, हालै उनको ठेकेदार पैसा नदिई बेपत्ता भए । त्यसपछि आफँैले खर्च कटाएर जम्मा गरेको पैसाले घर फर्किने निधो गरेका थिए । तर, यातायात बन्द भएपछि उनी पनि नयाँ बसपार्कमा अलपत्र परेका छन् । 

‘मैले दैनिक रूपमा जम्मा गरेको पैसाले घर फर्किन पुग्थ्यो । तर, गाडी नै बन्द भएपछि जान सकिएन । यहीले खाना खाजा खाँदा पैसा सकियो,’ आफूसँग भएको दुई सय रुपैयाँ हाराहारी नगद पैसा देखाउँदै उनले भने, ‘मसँग यही दुई सय रुपैयाँ मात्र छ । यो रकमले न काठमाडौंमा खान पुग्छ न घर फर्किन पुग्छ ।’

यस्तै, दाङका शंकर नाथ, टोपेन्द्र राना र गौर्धन पुन व्यक्तिगत कामका लागि सोमबार काठमाडौं आएका थिए । तर, जेन–जी आन्दोलनले आफ्ना काम गर्न नपाएको उनीहरूले बताए । साथै, गाडी बन्द हुँदा घर फर्किन पनि नसकेको उनीहरूले बताए । ‘सोमबार काठमाडौं आएका हुँ । तर, आन्दोलनका कारण काम भएको छैन,’ शंकरनाथले भने, ‘घर फर्किउँ भने पनि गाडी छैन । होटल बस्दा बस्दै खर्च बढी रहेको छ ।’

यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । जेन–जी आन्दोलन र त्यसपछि लगाइएको कर्फ्युका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी बन्द गरिएको छ । त्यसपछि काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुहरू अलपत्र परेका छन् । गोंगबुस्थित बसपार्कमा हजारौँ यात्रु गाडी खुल्ने आशामा बसेका छन् । तर, गाडी खुल्ने टुंगो छैन । पैसा हुने वालाहरू होटेलमा कोठा लिएर बसेका छन् । पैसा नभएकाहरू बसपार्कपरिसरमै रात बिताउने गरेका छन् । 

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सुरक्षाको ग्यारेन्टी भएमा पहिलो चरणमा काठमाडौंसहित विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन सकिने बताए । ‘वर्तमान परिस्थितिका कारण हामीले यातायात सेवा बन्द गरेको हो । 

सोमबार र मंगलबार त आन्दोलन नै भयो । त्यसपछि कर्फ्यु लागेको अवस्था छ । यो वेलामा यात्रा गर्दा यात्रुकै सुरक्षा नहुने जोखिम हुन्छ । सम्पत्तिको सुरक्षा पनि हुदैन,’ उनले भने , ‘यदि, नेपाली सेनाले सुरक्षाको ग्यारेन्टी गर्छ भने हामी अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन सकारात्मक छौँ । साथै, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको ढुवानीमा पनि सहजीकरण गर्छौँ ।’ 

यसका लागि सेनाले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ । ‘अहिले सरकार छैन । सुरक्षाको ग्यारेन्टी कर्मचारीबाट पनि हँुदैन,’ उनले भने, ‘तसर्थ, यसमा सेनाले नै अग्रसरता लिनुपर्छ । यसमा ढिलो गर्न हुदैन । हामी तयारी अवस्थामा नै छौँ ।’

दसैँ नजिकिँदै, यातायात सेवा अलपत्र 
हिन्दु नेपालीहरूको ठूलो पर्व दसैँ नजिकिँदै छ । यसपालि असोज १६ गते दसैँ छ । त्यसका लागि ६ असोजको घटस्थापनादेखि यात्रुको चाप उच्च हुन्छ । विदेशबाट आउने नेपालीलगायतका कारण घटस्थापना भन्दा अघिदेखि नै यात्रुको चाप उच्च हुने गर्छ । त्यसका लागि यतिवेलासम्म टिकटको अग्रिम बुकिङ खुलाउनुपर्ने थियो । तर, अहिले मुलुकको यातायात सेवा अलपत्र छ । दसैँको यातायात सेवालाई एजेन्डामा राखेर यातायात व्यवस्था विभागमा मंगलबार प्रहरी, यातायात सेवा सञ्चालकसहित सर्वपक्षीय बैठक आह्वान गरेका थिए । तर, आन्दोलनका कारण त्यो स्थगित भयो । त्यसपछि मुलुक नै शून्य अवस्थामा पुग्दा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता भइरहेको अध्यक्ष स्वाँर बताए । ‘यद्यपि, यो वेलामा दसैँ मान्ने अवस्था आउँछ कि आउँदैन, त्यसमा अहिले केही भन्न सकिन्न । तर, दसैँ नजिक आइसक्यो । यतिवेलासम्म अग्रिम टिकट खुलाउने बारे निर्णय गरिसक्नुपर्ने थियो । तर, बर्तमान परिस्थितिमा त्यो सम्भव देखिएन,’ उनले भने, ‘यद्यपि, दसैँमा सार्वजनिक यातायातलाई सकरी सहज र प्रभावकारी बनाउने विषयमा अहिले नै ध्यान दिन आवश्यक छ ।’

सुझावित समाचार