पब्जी मोबाइल विश्वकपमा नेपालले हात पार्‍यो नवौँ स्थान

नेपाली टिम होरा इस्पोर्टस्ले जित्यो एक लाख २७ हजार ५ सय अमेरिकी डलर

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

नेपाली टिम होरा इस्पोर्टस््ले साउदी अरेबियामा चलिरहेको इस्पोर्टस् विश्वकपअन्तर्गत पब्जी मोबाइलमा नवौँ स्थान हात पारेको छ । फाइनल चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमा होरा स्पोर्टस्ले नवौँ स्थान हात पारेको हो । जितसँगै उसले एक लाख २७ हजार ५ सय अमेरिकी डलर (एक करोड ७८ लाख रुपैयाँ) पनि जित्यो । अन्तिम चरणको प्रतिस्पर्धामा म्यानमारको वाइजी पहिलो र चीनको डब्लुबिजीले दोस्रो स्थान रक्षा गरेका छन् । 

विश्वकपमा खेलको होरा स्पोर्टस्को पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामाले ‍प्रतिस्पर्धा गरेका थिए । काजकिस्तानमा गत जुलाईमा भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा स्पोर्टस् विश्वकपमा छनोट भएको थियो । कुल ४१ करोड रुपैयाँ धनराशी भएको विश्वकपको विजेताले करिब सात करोड रुपैयाँ प्राप्त गरेको छ । 

विश्वकपमा होरा कुल १८ खेलमा सय अंकसहित फाइनलमा नवौँ स्थानमा सीमित भएको हो । होरा स्पोर्टस्ले समूह चरणमा १३औँ स्थानमा रहेको थियो । विश्वकपको नियमअनुसार सर्भाइभल स्टेज जितेर होरा इस्पोर्टस् उपाधि भिडन्त चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको आइतबार फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको थियो । नेपाली टोलीले समूह चरणमा २७ हजार पाँच सय, सर्भाइभल स्टेजको २५ हजार डलर र सो म्याचको १५ हजार अमेरिकी डलर जितेको थियो । 

सर्भाइभल चरणबाट फाइनलमा 
आयोजकले फाइनल चरणमा स्थान पक्का गरेको प्रत्येक टोलीलाई ६० हजार अमेरिकी डलर प्रदान गरेको छ । लिग स्टेजको खेलमा होरा इस्पोट्र्स समग्रमा १३औँ स्थानमा रह्यो । जसका कारण होरा स्पोर्टस् सीधै ग्रान्ड फाइनलमा पुग्न सकेन । लिग चरणमा शीर्ष आठभित्रमा नपरेपछि सर्भाइभल स्टेजमा होरा इस्पोर्टस्ले मौका पाएको हो ।सर्भाइभल स्टेजमा शीर्ष आठमा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो । सर्भाइभल स्टेजमा होरा स्पोर्टस्ले १२ खेलमा दुई चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो ।

अहिलेसम्मकै ठुलो सफलता
नेपालले साउदी अरेवियामा इस्पोर्टस् इतिहासमै ठुलो सफलता प्राप्त गरेको इस्पोर्टस् संघ नेपाल (इसान)का वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताएका छन् । होरा स्पोर्टस्ले विश्वकपमा नवौँ स्थान हात पार्नुअघि डिआरएसले सन् २०२२–०२३ सम्म इन्डोनेसियाको जकार्तामा भएको ग्लोबल च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको थियो । ‘डिआरएसले ग्लोबल छनोटमा प्राप्त गरेको दोस्रो स्थान नै ऐतिहासिक थियो अहिले होरा इस्पोर्टस्ले नयाँ इतिहास रचेको छ,’ केसीले भने ।

धनराशीका रूपमा डिआरएसले ग्लोबल च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदा दुई लाख ९२ हजार अमेरिकी डलर रुपैयाँ हात पारेको थियो । त्यसवेला लगभग चार करोड रुपैयाँको हाराहारीमा नेपाली खेलाडीले रुपैयाँ जितेका थिए । विश्व इस्पोर्टस् महासंघले जकार्ताको संस्करणपछि विश्वकप स्वरूपमा प्रतियोगिता आयोजना गरेको हो । ‘इस्पोर्टस्मा सबैभन्दा ठुलो प्रतियोगिता नै ग्लोबल च्याम्पियनसिप थियो । अहिले विश्वकप इस्पोर्टस् नै हो,’ उनले भने, ‘नेपालले पहिलोपटक विश्वकपमा स्थान पक्का गरी नवौँ स्थान रक्षा गरेको छ ।’ डिआरएस टिम पब्जीको सबैभन्दा ठुलो विश्वस्तरीय प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)मा तीनपल्ट छनोट भइसकेको छ । डिआरएससँगै एसजी र टिटुकेले पिएमजिसीका लागि छनोट भएका थिए । 

१९औँ एसियाडमा सेमिफाइनलमा
सन् २०२४ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद (एसियाड)मा नेपालले सेमिफाइनल स्थान पक्का गरेको थियो । सेमिफाइनलको समूह ‘ए’मा नेपाल तेस्रो स्थानमा रह्यो । सेमिफाइनलमा नेपालले जापान, दक्षिण कोरिया र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । सुविनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समीर गुरुङ सम्मिलित नेपाली टोलीले जापानलाई हराएको थियो । नेपाल दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको थियो । नेपालले एसियाडको क्वार्टरफाइनलमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । एसियाडमा सहभागी हुनुअघि नेपालको डिआरएसले जकार्तामा ग्लोबल छनोट खेलेको थियो ।

दुई वर्षअघि संघको स्थापना 
युवा वर्गमा इस्पोर्टस् लोकप्रिय खेल हो । भर्चुअल खेलमा पनि पब्जीको क्रेज अत्यधिक छ । ०८० सालमा इस्पोर्टस् संघ नेपाल (इसान)को स्थापनापछि आधिकारिक रूपमा यो खेलको गतिविधिले तीव्रता पाएको हो ।

०८१ को जेठमा पब्जीको औपचारिक प्रतियोगिता पब्जी मोबाइल सुपर लिग (पिएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ काठमाडौंमा आयोजना भएको थियो । जसमा आठ राष्ट्रका २० टोलीले भाग लिएका थिए । अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको फिल्ड इभेन्ट नेपालमा आयोजना पहिलोपल्ट गरिएको थियो ।

इसानका वरिष्ठ उपाध्यक्ष केसीले गत फागुनमा आयोजनामा भएको दोस्रो इसान इस्पोर्टसर्् राष्ट्रिय च्याम्पियन्सिपमा १६ टोलीले भाग लिएको बताए । जसमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै ‘होरा इस्पोर्टस्’ विजेता बन्यो । होराले टी टु के, दाइ इस्पोर्टस्, होइन इस्पोर्टस् र डिआरएस गेमिङपछि पारेको थियो । यस प्रतियोगितामा ६ सय खेलाडीले प्रतिस्पर्धा गरेको उनले बताए ।

एकपटक पब्जी खेलमाथि प्रतिबन्ध
२०७५ चैत २८ मा सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो । तत्कालीन नेपाल सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए । पब्जीको अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लु होलमातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

See More On

सुझावित समाचार