आवश्यकताका आधारमा प्राविधिक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई सुझाव

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

स्थानीय उद्योगहरूको आवश्यकताका आधारमा पाठ्यक्रम निर्माण गरी प्राविधिक उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्न उद्योगीहरूले सुझाव दिएका छन्। कोशी प्रदेश सरकारअन्तर्गत मनमोहन प्राविधिक विश्वविद्यालयलाई सुनसरी–मोरङ क्षेत्रका उद्योगीहरूले उद्योगमै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सोहीअनुरूपको पाठ्यक्रम निर्माण गर्न सुझाव दिएका हुन्।

उद्योगीहरूका अनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन नभएसम्म देशका उत्पादनमूलक र सेवा क्षेत्रमा क्रियाशील उद्योगहरू आत्मनिर्भर बन्न सक्दैनन्। त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी उद्योगमै आवश्यक पर्ने पाठ्यक्रम विकास गरेर पठनपाठन सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिए। विराट मेडिकल टिचिङ अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले देशमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए।

उनले मनमोहन प्राविधिक विश्वविद्यालयको पहल सकारात्मक भए पनि उद्योगसँग सहकार्यविना पाठ्यक्रम निर्माण हुनु र रोजगारसम्बन्धी विषयमा संयुक्त कार्यदल बनाएर विश्लेषण नगर्दा विश्वविद्यालय र उद्योगबिच दूरी कायम रहेको बताए। डा. कार्कीले स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति अझै पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन भएमा आफूहरू रोजगार दिन तत्पर रहेको बताए।

सुनसरी–मोरङ औद्याेगिक करिडोरअन्तर्गतको अरिहन्त मल्टिफाइबर्सका प्रबन्धक नारायण लामिछानेले दक्ष प्राविधिक जनशक्ति स्वदेशमै पर्याप्त मात्रामा उत्पादन नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए। उनले मनमोहन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेमा आफूहरू एक हजारजनासम्मलाई रोजगार दिन तयार रहेको प्रतिबद्धता जनाए । 

भौतिक उद्योगविज्ञ काशीराम भण्डारीले मनमोहनले उत्पादन गर्न थालेका प्राविधिक जनशक्ति उद्योगहरूले लिइरहे पनि वैदेशिक रोजगारीका लागि उनीहरूले उद्योग छाड्दा लगानी खेर जाने समस्या रहेको बताए। उनले स्वदेशमै दक्ष जनशक्ति टिकाइराख्न सरकारले चासो दिनुपर्नेमा जोड दिए। पशुपति आइरन उद्योगका प्रबन्धक के.के. ठाकुरले ज्ञानसहितको सिपयुक्त प्राविधिक जनशक्ति मात्र उद्योगका लागि योग्य हुने भन्दै अदक्ष जनशक्तिमा निर्भर रहँदा उद्योगमा जोखिम बढ्ने बताए। उनले पनि उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गरी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परम्परागत सिप र अनुभव मात्र पर्याप्त नभएकाले प्राविधिक विश्वविद्यालयले उद्योगमै आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नु स्वागतयोग्य कदम भएको बताए। उनले पाठ्यक्रम निर्माणका क्रममा उद्योगसँग सहकार्य गर्न सुझाव दिए। 
 

सुझावित समाचार