विद्यार्थी बोकेको स्कुलबसमा आगलागी, विद्यार्थी सकुशल

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

रुपन्देहीमा करिब ४० जना विद्यार्थी बोकेर गुडिरहेको विद्यालयको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– ४, फर्साटिकरमा बसमा आगलागी भएको हो । फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको  लु.१क १३२६ नम्बरको बसमा रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर आउँदै गर्दा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेका थिए। बसको आवाज फेरिएको र इन्जिनबाट धुवाँ  आएको देखेलगत्तै विद्यार्थीहरूलाई चालक र सहचालकले  बसको पछाडिको ढोकाबाट बाहिर निकालेका थिए। मानवीय क्षति हुन नपाएको, तर बसमा क्षति भएको डिएसपी कार्कीले बताए।

आगलागीबाट  बस भने पूर्ण रूपमा क्षति भएको र बसमा लागेको आगो दमकलले निभाएको थियो।

सुझावित समाचार