आँखा देखेपछि खुसी पोखियो : ८५ वर्षीया कृष्णा भन्छिन्, ‘यस्तै देखेर मर्न पाइयोस् भगवान्’

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

जब डाक्टर सविताले आँखाको पट्टी खोलिन् ८५ वर्षीया वृद्धा कृष्णा कुँवरको खुसी पोखियो । ‘देखेँ देखेँ । हे भगवान् ! यस्तो हुम्ला भन्ने सोचेकी थिइनँ,’ उनले खुसीले नमस्कार गर्दै सवैका अगाडि थपिन्,‘ यस्तै देखेर मर्न पाइयोस् भगवान् ।’ उनी ०६५ सालदेखि छोरी यमकला कुँवरकोमा छिन् । बुढेसकालमाथि दुवै आँखा नदेख्दा उनी आफैँ र स्याहारसुसार गरिरहेकी छोरीलाई समेत पीडा थियो । 

०७२ सालबाट आँखामा फुलाे देखिन थालेकाे हाे । समस्या बल्झिँदै जाँदा पनि आमालाई उपचार गर्न बाहिर लैजाने यमकलासँग उपाय थिएन । जसका कारण पाँच–छ वर्षदेखि कृष्णाका दुवै आँखा बन्द भए । छमछमाएर चर्पी जाने अवस्थाबिच जीवन निकै कष्टपूर्ण बन्यो । ‘आमालाई बुबा बितेपछि माइतमै ल्याएर पालेकी छु । ०७२ सालपछि आँखामा समस्या देखिन थालेपछि बिस्तारै बन्द भए,’ उनले भनिन्, ‘गाउँमै आमाको उपचार भएपछि धन्य भएकी छु ।’ यमकलाले गाउँमा शिविर हुने भएपछि गाडीमा र बोकेर आमालाई शिविरमा पुर्याएकी थिइन् । उनले उपचार निःशुल्क गरेर घरसम्म पुर्याउने सबैलाई धन्यवाद दिइन् । 

फागुन २२ र २३ गते सत्यवती गाउँपालिकाले निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरको आयोजना गरेको थियो । शिविरमा नेपाल नेत्र ज्योतिसंघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रले प्राविधिक सहयोग रहेको नेपाल नेत्र ज्योतिसंघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाको वरिष्ठ नेत्र रोग विशेषज्ञ सविता ढकाल र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतको नेतृत्वको टोलीले आँखाको परीक्षण, उपचार तथा मोतियाबिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया गरेको कार्कीले बताए । 

दुई दिन सञ्चालन भएको शिविरमा ४७७ जना आँखा परीक्षण तथा उपचार र मोतियाबिन्दु भएका ४५ जना बिरामीको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघका सचिव पदमप्रसाद पाण्डेले जानकारी दिए । जसमा पुरुष १९१ जना र महिला २८६ जनाको आँखाको उपचार तथा परीक्षण गरिएको पाण्डेयले बताए । उनले शिविरमा ५५ वर्षदेखि ९२ वर्षसम्म वृद्धवृद्धा बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए । शिविरमा सत्यवती गाउँपालिकाका ४१ जना, मुसिकोट नगरपालिका, गुल्मीदरबार, चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकाका एक–एकजना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । 

नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले विगत लामो समयदेखि आफूहरूले आँखाको क्षेत्रमा काम गर्दै आएको बताए । उनले स्थानीय तहपछि आँखाको उपचार र शल्यक्रियामा स्थानीय तहमा सहयोग र समन्वय राम्रो भएकाले कैयौँले सेवा पाउने वातावरण बनेकोमा खुसी व्यक्त गरे । सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले नेपाल नेत्रज्योति संघमार्फत दुर्गमका नागरिकको ज्योति फर्काउन सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे । 
  

सुझावित समाचार