काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अधिकृत छैटाैँ (प्राविधिक) गजेन्द्रप्रसाद जयसवाल र बिकी यादवविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आर्थिक वर्ष ०८२/८३ मा पर्साको ठोरी गाउँपालिका– ३ मा ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ योजनामा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
उनीहरूले योजनाको भुक्तानी दिएबापत र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपपत्रमा उल्लेख छ। गजेन्द्रप्रसादले कार्यालय समयमा पैसा लिन नमिल्ने भनी अर्को व्यक्तिमार्फत घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरू दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन लाख ४५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।