आयल निगमका नायब कार्यकारी निर्देशक बरालले दिए राजीनामा

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका नायब कार्यकारी निर्देशक दीपक बरालले राजिनामा दिएका छन्। बरालले २६ कात्तिकबाट लागू हुने गरी पदबाट राजिनामा दिएका निगम स्रोतले जानकारी दियो।

सरकारले ३०–५५ लागू गरेर पुराना कर्मचारी हटाउने गृहकार्य तिव्र पारिरहेका बेला बरालको राजिनामा आएको हो। उनले निगममा ३२ बर्ष बिताएका छन् भने उमेरले पनि ५५ बर्ष टेकिसकेका छन्। निगमको अभिलेखअनुसार उनको जन्म मिति १५ असोज, ०२८ हो। उनी १ जेठ, ०५२ मा निगम प्रवेश गरेका थिए। त्यसयता सिनामंगल, अमलेखगञ्जलगायतका ठूला डिपो प्रमुख भएर काम गरेका उनले केन्द्रिय कार्यालयमा ग्यास विभाग र बितरण विभागको निर्देशक भएर पनि काम गरेका थिए।

नायब कार्यकारी निर्देशकमा बढुवा भएपछि केही समय संस्थागत मामिला विभागमा रहेका उनी पछिल्लो समय बजार व्यवस्था विभागको नेतृत्वमा रहेका थिए। यो विभागमा रहँदा बरालले भारतबाट पेट्रोलियम पदार्थको आयात व्यवस्थापनदेखी मुलुकभरको इन्धन बितरण प्रणालीको सुपरिवेक्षण गर्दै आएका थिए। ०७२ को भारतीय नाकाबन्दी सामना गर्न चीनबाट १३ लाख लिटर पेट्रोल ल्याउन बेइजिङदेखी केरुङसम्म पुगेर उनले सहजीकरणसमेत गरेका थिए।

बरालले गत असारमा छोटो समयका लागि निमित्त कार्यकारी निर्देशकको भूमिकासमेत निर्वाह गरेका थिए। त्यतिबेला उनले चितवनको लोथरमा निर्माण हुने ९१ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माणस्थलको भूमीपुजा गरेर शिलान्यास गरेका थिए।

बरालले यसअघि ३० बैशाख, ०७७ मा पनि राजिनामा पेश गरेका थिए। निर्देशक तहमा रहेका बेला उनको राजिनामा अस्वीकृत गराएर निगम कर्मचारीले काममा फर्काएका थिए। यसपटक भने कार्यावधि करिब डेढ बर्ष मात्रै रहेकाले उनी नफर्किने गरी बिदा भएको स्रोतको भनाई छ।

सुझावित समाचार