काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा लोकप्रिय र सक्षम उम्मेदवार छनोटका लागि पार्टीभित्रै आन्तरिक निर्वाचनको विधि विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबारबाट कार्की बेंक्वेट बबरमहलमा सुरु भएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ शीर्षकमा कार्यपत्र पेस गर्दै महासचिव पोखरेलले यस्तो प्रस्ताव गरेका हुन्।
‘उम्मेदवार छनोटमा सम्बन्धित भूगोलको कार्यकर्ता र स्थानीय कमिटीको सिफारिसलाई प्रमुख आधार बनाउनुपर्छ। उम्मेदवारको जनसम्पर्क, सार्वजनिक छवि, कार्यसम्पादन, वैचारिक प्रतिबद्धता र नैतिक आचरणको स्पष्ट मापदण्ड बनाउनुपर्छ,’ महासचिव पोखरेलले प्रस्तावमा भनेका छन्, ‘आवश्यकताअनुसार स्थानीय तहमा आन्तरिक निर्वाचन वा परामर्शबाट लोकप्रिय र सक्षम उम्मेदवार चयन गर्ने विधि विकास गर्नुपर्छ।’
उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्व शीर्षकमा पोखरेलले उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता तथा जनविश्वासलाई पर्याप्त महत्त्व नदिइएको गुनासो आउने गरेको भन्दै अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने, पहुँच वा अन्य प्रभावका आधारमा निर्णय हुने तथा निर्णयप्रति स्थानीय संगठनको अपनत्व कमजोर हुने समस्या देखिएको जनाएका छन्। त्यही कारण उम्मेदवार छनोट गर्ने विधि नयाँ ढंगले विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।