अन्तरजातीय प्रेमविवाह गरेकै कारण असार ०७३ मा ‘मारिएका’ भनिएका काभ्रेका अजित मिजारको शव साढे आठ वर्षदेखि काठमाडौंको टिचिङ अस्पतालमै छ । अन्तरजातीय विवाहकै कारण हत्या भएको दाबी गर्दै उनको परिवारले न्याय नपाएसम्म शव नउठाउने अडान लिएको छ ।
कर्तव्य ज्यान मुद्दामा आरोपीलाई जिल्ला अदालत धादिङ र उच्च अदालत पाटनले सफाइ दिएको छ । अदालतको फैसलामा चित्त नबुझाएको अजितको परिवार सर्वोच्चमा पुगेको छ । २८ फागुनमा मुद्दाको पेसी छ । परिवारको दाबी र अदालतको फैसला फरक–फरक हुँदा यो विषय निरूपण भएको छैन । अजितका बुबा हरिभक्त ढकाल मिजारले न्यायका लागि सर्वोच्च अदालत एक मात्र अन्तिम आशाको केन्द्र रहेको बताए । ‘जिल्ला र उच्च अदालतले न्याय दिएनन् । अब सर्वोच्चकै आशा छ । तर, सर्वोच्चले पेसी तोकेर छलफल गरेको छैन । अब फागुन २८ गतेका लागि तारिख तोकेको छ,’ उनले भने ।
घटनाको अनुसन्धान गर्न गठित दुई सरकारी समितिले अजितको हत्या भएको निष्कर्षसहित प्रतिवेदन दिएका थिए । त्यसैगरी घटनास्थल गएको दलित अधिकारसम्बन्धी संघसंस्था, नागरिक समाजका प्रतिनिधि, दलित अधिकारकर्मी र मानव अधिकारकर्मीले पनि अजितको हत्या भएको प्रतिवेदन प्रकाशित गरेका छन् ।
अजितका बुबा हरिभक्तले १५ साउन ०७३ मा धादिङ प्रहरीमा जाहेरी दिएका थिए । अजितका बुबाले टेकबहादुर पराजुली, भोजबहादुर पराजुली र सम्झना पराजुलीविरुद्ध जाहेरी दिएका थिए । प्रहरी अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दा अघि बढाइएको थियो । तर, धादिङ जिल्ला अदालतले अभियुक्तलाई सफाइ दियो । पुनरावेदनका क्रममा पाटन उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गर्यो । सरकारवादी मुद्दामा दुई तहको अदालतमा हार भएपछि सरकारले थप पुनरावेदन नगर्ने निर्णय गर्यो ।
२० वैशाख ०७९ मा सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने जानकारी अजितका परिवारलाई गरायो । त्यसपछि अजितका बुबाले अपराधपीडित संरक्षण ऐन, २०७५ अनुसार ‘मुद्दा दोहोर्याई हेरियोस्’ भनेर २१ वैशाख ०७९ मा सर्वोच्चमा निवेदन दिएका थिए ।
‘घटना भएको आठ वर्षसम्म पनि परिवारले न्याय पाउन सकेको छैन । पहुँचवाला व्यक्ति नहुँदा पनि यस्तो अवस्था आयो जस्तो लाग्छ । सरकारले अझै हाम्रो आवाज सुनेको छैन,’ अजितका बुबा भन्छन्, ‘अब अन्तिम आशा सर्वोच्च अदालत नै हो । न्याय नपाएसम्म छोरोको शव उठाउदिनँ, यो नै मेरो आन्दोलन हो ।’
मुद्दामा वकालत गर्दै आएका अधिवक्ता मोहन शाशंकर पनि यस घटनाको अनुसन्धानदेखि नै त्रुटि भएको बताउँछन् । उनले भने, ‘प्रहरीको अनुसन्धान नै गलत छ । पोस्टमार्टम नगरी यसको रिपोर्ट बनाइएको छ, र हतार–हतारमा लास गाडिएको छ । लामो समयसम्म प्रहरीले जाहेरी दर्ता गर्न मानेन । त्यसपछि प्रतिवादीलाई तत्काल पक्राउ गरिएको छैन । बल्ल–बल्ल जाहेरी दर्ता भएको र प्रतिवादी पक्राउ गरिएको छ । तर, हत्या भएको स्पष्ट आधार भए पनि आत्महत्या भनेर अनुसन्धान गरिएको र सोहीअनुसार प्रतिवेदन बनाइएको छ । यसले गर्दा अझै न्याय पाउन सकेका छैनौँ ।’
राष्ट्रिय दलित आयोगका सदस्य सन्दुर पुरकोटी भने अदालतमा गइसकेको मुद्दा भएका कारण आफूहरूले केही गर्न नसकेको बताउँछन् । ‘अदालतमा जानुभन्दा अघि आयोगले स्थलगत अध्ययन गर्नेलगायतका काम त गरेको हो । तर, मुद्दा अदालतमा पुगेपछि हाम्रो दायरामा कुनै अधिकार पर्दैन । त्यसैले पछिल्लो समय आयोगले यसबारे कुनै पहल नगरेजस्तो देखिन्छ,’ उनले भने, ‘यद्यपि, यसमा हाम्रो ध्यान गएकै छ । मुद्दालाई बाहिरबाट हेरिरहेका छौँ । शवको अन्तिम दाहसंस्कार गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
तत्कालीन छानबिन समितिका संयोजक दलजित श्रीपाली अजितको परिवारलाई न्याय दिने, पीडकलाई सजाय दिने र शवको अन्तिम संस्कार गर्ने काममा जोड दिनुपर्ने बताउँछन् । ‘गृह मन्त्रालयलगायतका सरकारी निकायको असहयोगका बिच घटनालाई राम्रोसँग छानबिन गरेका थियौँ । त्यस क्रममा अजितको हत्या नै भएको देखियो,’ उनले भने, ‘तर, यस घटनामा पीडितले अहिलेसम्म न्याय नपाउनु, अजितको शव अस्पतालमा अलपत्र हुनु दुःखद पक्ष हो । अब अजितको परिवारलाई न्याय दिने, पीडकलाई सजाय दिने र शवको अन्तिम संस्कार गर्ने काममा जोड दिनुपर्छ ।’
वैशाख ०७४ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अजितको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । ‘सरकारले राहतस्वरूप १० लाख रुपैयाँ दियो, जुन स्वागतयोग्य छ । तर, घटना भएको झन्डै आठ वर्ष हुदाँ पनि न्यायको अनुभूति गर्न पाएको छैन,’ अजितका बुबाले भने, ‘यो मेरो परिवारका लागि मात्रै होइन, समग्र देशको लागि नै दुःखको पक्ष हो ।’
घटना के हो ?
काभ्रेको पाँचखालका १८ वर्षीय युवा अजित मिजार स्थानीय गैरदलित अर्थात् पराजुली थरकी (कल्पना) युवतीसँग प्रेमसम्बन्धमा थिए । आपसी समझदारीमा उनीहरूले २५ असार ०७३ मा बिहे गरे । तर, समाजको डरले उनीहरू भक्तपुरस्थित अजितकी दिदीको घरमा बसेका थिए । तर, केटीको परिवारले दलितसँग बिहे गरेको भनेर गाली गर्ने र केटालाई विभिन्न धम्की दिने गरेको थियो । साथै, केटी परिवारले स्थानीय (पाँचखाल) प्रहरी चौकीमा उजुरी पनि गरेको थियो ।
त्यसपछि केटाको परिवारले केटाकेटीलाई घर बोलाएर २७ असार ०७३ मा चौकीमा उपस्थित गराएको थियो । सोही दिन प्रहरीले उमेर नपुगेको भन्दै उनीहरूलाई छुट्टायो । तर, उमेरभन्दा पनि जातका कारण उनीहरूलाई छुट्टाएको दाबी गरिएको थियो । केटाकेटी नमान्दा–नमान्दै पनि माइती पक्षको दबाबमा उनीहरूलाई छुट्याइएको थियो । केटीले लगाएको चुरा–पोतेजस्ता पहिरनसमेत माइती पक्षले जबर्जस्ती फालिदिएको थियो ।
प्रहरीमा सहमति गरेर छुट्टिएपछि पनि अजितलाई फोनमार्फत धम्की आइरहेको थियो । सोही क्रममा २९ असार ०७३ मा दिउँसो २ बजेतिर अजित एकाएक बेपत्ता भए । त्यसवेला उनीसँग ५० रुपैयाँ मात्रै थियो । सोही दिन उनले राति ८ बजेतिर घरमा फोन गरेका थिए । त्यस क्रममा उनको स्वर अत्तालिएको थियो । अचानक फोन काटियो । त्यसपछि अजितसँग परिवारको सम्पर्क हुने सकेन । १ साउन ०७३ मा उनको परिवारले एक समाचार पोर्टलमा अजितको शव झुन्डिएको अवस्थामा भेटिएको समाचार देख्यो । काभ्रेका अजित धादिङको गजुरीस्थित प्रतीक्षालयमा झुन्डिएको अवस्थामा देखिएका थिए ।
धादिङ प्रहरीले भने अजितको शव ३० असार ०७३ मै भेटेको थियो । तर, सनाखत हुन नसकेको भन्दै १ साउन ०७३ मै त्रिशूली नदीको किनारामा उक्त शव गाडिएको थियो । त्यसको भोलिपल्ट अर्थात् २ साउन ०७३ मा समाचारमा देखेपछि मात्रै अजितको परिवार काभ्रे प्रहरी हुँदै त्यहाँसम्म पुग्यो । त्यहाँ पुग्दा प्रहरीले शव उत्खनन गर्न मानेको थिएन । पोेस्टमार्टम गरेको प्रहरीको दाबी थियो । परिवारको अडानपछि शव उत्खनन भयो । र, शव अजितको रहेको पुष्टि भयो ।
तर, प्रहरीले स्थानीय स्वास्थ्य चौकीमा पोस्टमार्टम गरेको भन्दै एक रिपोर्ट परिवारलाई दिएको थियो, जहाँ झुन्डिएर मृत्यु भएको उल्लेख छ । त्यसपछि आफन्तले उनको शव काठमाडौंस्थित टिचिङ अस्पताल ल्याए । टिचिङले ४ साउन ०७३ मा पोस्टमार्टम गर्यो, झुन्डिएको कारण मृत्यु भएको रिपोर्ट आयो । अतिज झुन्ड्याएर मारिएको परिवार र सरोकारवारको भनाइ छ ।