एक महिना २३ दिनपछि सेयर बजारमा नौ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आइतबार नौ अर्ब पाँच करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत १९ मंसिरमा नौ अर्ब ६ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । ५४ दिनपछि भएको ठुलो कारोबारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । सप्तकोशीको ३९ करोड ५३ लाख रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीको ३८ करोड ४२ लाख र एनआरएनको ३५ करोड ८७ लाखको कारोबार भएको हो ।
कुल एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ताको सेयर कारोबारमा सबैभन्दा बढी किनबेच नेपाल पुनर्बिमा कम्पनी, हिमालयन पावर पार्टनर र एनआरएनको भएको छ । पुनर्बिमाको चार लाख ११ हजार ६ सय २७ कित्ता, हिमालयन पावर पार्टनरको तीन लाख ६७ हजार ९८ कित्ता र एनआरएनको दुई लाख ८६ हजार ४३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा वृद्धि भए पनि नेप्से परिसूचकमा भने कमी आएको छ । परिसूचक १०.४१ अंक (०.३९ प्रतिशत)ले घटेको छ । आइतबार नेप्से २६४३.९३ विन्दुमा रोकिएको हो । आइतबार घटेको बजारमा पनि उपकार लघुवित्त, माथिल्लो मैलुन खोला जलविद्युत्, कर्पाेरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त र नबिल ऋणपत्र २०८२ उच्चदरले बढेको छ । उपकार लघुवित्त र माथिल्लो मैलुन खोलाको जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक नै लगाएको थियो ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि नेप्सेले सर्किट ब्रेक लगाएको थियो । यसरी सर्किट ब्रेक नै लाग्ने गरी सेयर मूल्य घट्नेमा बोटलर्स नेपाल, एनआइसी एसिया ऋणपत्र ०८२/८३, डोल्टी पावर कम्पनी र जानकी फाइनान्स कम्पनी छन् । धौलागिरि लघुवित्तको पनि ९.९२ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । आइतबार बजार पुँजीकरण ४३ खर्ब ८५५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।