खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलोपटक जुम्लाको मार्सी धान खरिद गर्ने भएको छ । मार्सी धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयलाई खबर गरिएको शाखा कार्यालय जुम्लाले जनाएको छ ।
मार्सी धान खरिद गर्न प्राविधिक बोलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मोहन जोशीले बताए । ‘धान खरिद गर्ने भएपछि किसान उत्साहित नै देखिन्छन्,’ उनले भने, ‘यसले जुम्लामा मार्सी धान उत्पादनका लागि सहयोग गर्नेछ ।’
जुम्लामा पहिलोपटक दुई सय क्विन्टल धान खरिद गर्न लागिएको उनले बताए । ‘जुम्ली मार्सी नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सबैभन्दा उचाइ अर्थात् समुद्र सतहबाट करिब तीन हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो,’ उनले भने, ‘यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ ।’
गत असोज २३ गते नै मार्सी धान खरिद गर्न कम्पनीको खरिद विभागले पत्र पठाइसकेकाले विभागले तोकेको मापदण्डअनुसारको मार्सी धान खरिद गर्ने प्रमुख जोशीले बताए । ‘राणाकालदेखिको इतिहास जोडिएको छ । राणाशासकले मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म पुर्याउने गरेको पाइन्छ,’ उनले भने, ‘करिब सात सय वर्षअघि जुम्लामा भारतको काश्मीरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ ।’ कम्पनीले जुम्लाबाट स्वादिलो मार्सी धान खरिद गरेर देशका अन्य भागमा बिक्री गर्ने उनले बताए । ‘जुम्लाको निकै पोसिलो र अत्यधिक कार्बोहाइड्रेट भएको यो चामल सजिलै उपभोग गर्न पाउनेछन्,’ उनले भने, ‘यसका लागि कम्पनीले जुम्लामा उत्पादन हुने मार्सी धान खरिद गर्ने अन्तिम तयारी गरेको छ ।’
जुम्लाको १२ हेक्टरका मार्सी धानखेती
जुम्लामा कुल दुई हजार नौ सय ५० हेक्टरमा धानखेती हुने गरेकोमा १२ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । जुम्लामा हिमाली भूभागमा धानखेती सिँचित क्षेत्रमा मात्रै गरिन्छ । यो अकासेपानीका भरमा मात्रै गरिँदैन । तिला र हिमा नदी हिमालबाट आउने हुन् र कृषकले पानी जमाइराख्छन् । प्रतिहेक्टर दुई टनसम्म सो धान फल्ने गरेको छ । हिमाली क्षेत्रमा गर्मी बढ्दा धान उत्पादनमा नोक्सानी नभए पनि नदीबाट पानीको बहाव कम हुँदा त्यसले चुनौती थप्न सक्ने कृषिविज्ञको भनाइ छ । माइनस ४ डिग्री सेल्सियस तापक्रमसम्म उम्रने शक्ति भएको यो मार्सी धान ज्यापोनिका प्रजातिको स्थानीय रैथाने जातभित्र पर्छ ।
प्रतिकेजी १२० रुपैयाँ मूल्य तोकियो
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा स्थानीय खरिद समितिले प्रतिकेजी एक सय २० रुपैयाँमा मार्सी धान खरिद मूल्य तोकेको छ । जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग, वाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मूल्य समायोजन गरेर धानको मूल्य तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ ।
प्रतिकेजी मार्सी चामल एक सय ७० रुपैयाँमा बेच्दै आएका किसान धान बेच्नु किसानका लागि सहज भएको जुम्ला पातारासी गाउँपालिका– ५ का स्थानीय राजबहादुर रोकायले बताए ।
मार्सीको महत्व निकै भए पनि यसको उत्पादनमा वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन् । अहिले मार्सीको उत्पादनले बजारको माग पूरा हुन नसकेको जुम्ला चन्दननाथ नगरपालिकाका रामसिंह रावलले बताए ।