मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी–झापा खण्ड निर्माणका लागि ठेक्का लागेको साढे तीन वर्षपछि बल्ल रुख कटानका लागि कागजी प्रक्रिया अघि बढेको छ । रुखका कारण ठेक्का लागेको सडक समयमा निर्माण सम्पन्न हुन सकेको थिए ।
६ मंसिरको मन्त्रिपरिषद् बैठकले रुख कटान हुने क्षेत्रबराबरको जग्गा सट्टाभर्ना गर्ने निर्णय गरेसँगै कागजी प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । निर्माण सुरु भएको साढे तीन वर्षपछि मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि ठेक्का लागेको ९८.८ किलोमिटरमध्ये बल्ल ४६ मिलोमिटरमा रहेको रुख हटाउन जग्गा सट्टाभर्नाको निर्णय गरेको आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवासकुमार दत्तले बताए ।
दमकस्थित बेलडाँगीसम्मको ४६ किलोमिटरमा पर्ने रुखका लागि जग्गा सट्टाभर्ना गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो । ठेक्का लागेको झापा र इलाम खण्डको बाँकी ५२.८ किलोमिटर क्षेत्रको रुख हटाउनका लागि भने मन्त्रिपरिषद्ले निर्णय गरेको छैन । यसका लागि अझै करिब डेढ महिनाहाराहारी लाग्ने दत्तले नयाँ पत्रिकालाई बताए । ‘सुनसरीदेखि झापासम्मको ४८ किलोमिटर सडकको रुख हटाउन अहिले कागजी प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने, ‘खासगरी सुनसरी र मोरङको धेरै भाग पर्छ । झापाको थोरै मात्र छ ।’
मन्त्रिपरिषद्को निर्णयपछि जग्गा सट्टाभर्नाका लागि जग्गा खोजी गर्न प्रत्येक जिल्लामा त्यहाँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गा प्राप्ति समिति बन्यो । राजमार्ग निर्माण हुने सबै स्थानीय तहलाई जग्गा उपलब्ध गराउन पत्र लेख्यो । जग्गा प्राप्तिका लागि सात दिनको म्याद राखेर सूचना पनि जारी भयो । तर, त्यो अवधिमा जग्गा प्राप्त नभएको इन्जिनियर दत्तले जानकारी दिए ।
‘जग्गा प्राप्ति नभएपछि त्यसबापत वन विभागमा पैसा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘अहिले हामी पैसा जम्मा गर्ने प्रक्रियामा अघि बढेका छौँ ।’ ४६ किलोमिटरमा रहेको वन क्षेत्रमा सात हजार ७१० वटा रुख पर्ने लगत संकलन भएको इन्जिनियर दत्तले बताए । जग्गा नपाएपछि उक्त रुख भएको जग्गाको मूल्यको स्टिमेट तयार पारिएको उनले बताए । उनका अनुसार करिब २३ करोड रुपैयाँ स्टेटमेन्ट निकालिएको छ ।