मुगुगाउँमा अज्ञात रोगले सोमबारसम्म करिब ६० वटा चौँरी तथा याक मरिसके

हिमपातसमेत सुरु भएकाले चिकित्सक टोलीलाई प्रभावित क्षेत्र पुगेर उपचार गर्न कठिन

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण
मुगुगाउँमा अज्ञात रोगले सोमबारसम्म करिब ६० वटा चौँरी तथा याक मरिसके

कार्मारोङ गाउँपालिका– २ मुगुगाउँमा याक तथा चौँरीको उपचार गर्दै चिकित्सकीय टोली । तस्बिर सौजन्य : वीरेन्द्र जोशी

कार्मारोङ गाउँपालिका– २, मुगुगाउँमा चौँरी तथा याक अज्ञात रोगले मर्न थालेका छन् । स्थानीय छोर्तेन लामाका अनुसार सोमबारसम्म करिब ६० वटा चौँरी तथा याक मरिसकेका छन् । तर, मंगलबारबाट हिमपात सुरु भएकाले चिकित्सक टोलीलाई प्रभावित क्षेत्र पुगेर उपचार गर्न कठिनाइ भएको छ ।

लामाका अनुसार थप चौँरीहरूमा रोगको लक्षण देखिनेक्रम रोकिएको छैन । ‘सुरुमा चौँरी तथा याकले मुखबाट र्‍याल निकाल्ने, पातलो हरियो रङको दिसा गर्ने, दिसामा हल्का रगत देखिने गरेको थियो,’ लामाले भने, ‘लक्षण देखिएको आठदेखि २४ घण्टाभित्रमा चौँरी मर्ने गरेका छन् । अहिले सबै गाउँले चिन्तामा छौँ ।’

सुवासचन्द्र रावल, प्रमुख प्रशासकीय अधिकृत, मुगुम कार्मारोङ गाउँपालिका
चौँरीको उपचार गर्न सात सदस्यीय चिकित्सक तथा प्राविधिक टोली मुगुगाउँ पठाइएको छ । चिसोका कारण स्थानीय बेँसीतिर अस्थायी बसाइँ सरेका छन् । गाउँमा कोही नहुँदा चौँरी रहेका लेकहरूमा पुग्न स्वास्थ्यकर्मीको टोलीलाई कठिनाइ भइरहेको छ । अझ मंगलबारबाट हिमपात सुरु भएकाले झन् समस्या भएको छ ।

चौँरी मर्न थालेको जानकारी पाउनासाथ गाउँपालिका कार्यालयबाट औषधि बोकेर पशु स्वास्थ्यकर्मी मुगुगाउँमा पुगेका थिए । सो टोलीले पनि रोग पत्ता लगाउन नसकेको गाउँपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र जोशीले बताए । ‘म आफैँ मुगुगाउँ पुगेर चौँरीको स्वास्थ्य अवस्था हेरेर फर्किएको छु,’ उनले भने, ‘के रोग लागेको भन्ने पत्ता लगाउनै सकिएको छैन । उता, चौँरीहरू धमाधम मरिरहेको खबर आइरहेको छ ।’

गाउँपालिकाको टोलीले लगेको औषधिले समेत काम नगरेपछि अहिले जिल्ला भेटेरेनरी तथा पशु अस्पताल, गमगढीबाट प्राविधिक जनशक्तिसहितको टोली खटिएको छ । सो टोलीले स्वाब संकलन गर्ने र प्रयोगशाला परीक्षणपछि मात्रै रोग पत्ता लाग्ने उनको भनाइ छ ।

जिल्लाको टोलीले सम्भावित रोगको औषधिसमेत बोकेर गएको उनको भनाइ छ । ‘मुगुगाउँमा टेलिफोन लाग्दैन । त्यसैले जिल्लाबाट गएको टोलीले के कस्तो उपचार गर्‍यो भनेर अहिले जानकारी लिन सकिएको छैन,’ उनले भने, ‘उहाँहरू फर्किएपछि मात्रै थप अपडेट हुन सकिन्छ ।’ चौँरी र याकमा चिसो सहने क्षमता हुन्छ । त्यसैले चिसोको कारण रोगी नभएको अनुमान छ ।

मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले सातसदस्यीय चिकित्सक तथा प्राविधिक टोली मुगुगाउँ पठाइएको बताए । ‘मुगुगाउँमा चिसोका कारण स्थानीय बेँसीतिर अस्थायी बसाइँ सरेका छन् । गाउँमा कोही नहुँदा चौँरी रहेका लेखमा स्वास्थ्यकर्मीको टोली पुग्न कठिनाइ भैरहेको छ,’ उनले भने, ‘अझ मंगलबारबाट हिमपात सुरु भएकाले झन् समस्या भएको छ ।’

खर्कतिर रहेका चौँरी गाउँ नझरेकाले उपचारमा समस्या भइरहेको उनको भनाइ छ । स्थानीयले सो गाउँमा करिब ५५० वटा चौँरी पालेको गाउँपालिकाको तथ्यांक छ । सबै चौँरी रोगका कारण मर्ने हुन् कि भन्ने चिन्ता गाउँलेमा बढेको र उपचारमा सक्दो प्रयास भइरहेको प्रशासकीय अधिकृत रावलले बताए ।

यहाँको प्रमुख आयस्रोत नै चौँरी हो । उच्च हिमाली क्षेत्र र भौगोलिक कठिनाइका कारण उर्वर जमिनको अभाव भएकाले यहाँका स्थानीय आयातीत खाद्यान्नमा निर्भर छन् । स्थानीयले दुधका लागि तथा छुर्पी बनाएर आम्दानी गर्न र भारी बोक्न चौँरी तथा याक पाल्ने गर्छन् ।
 

सुझावित समाचार