बौद्धिक अपांगता अभिभावक संघले अपांगता भएका व्यक्तिसँग सम्बन्धित समाचार, लेख, रचना प्रकाशित वा प्रसारित गर्दा अपांगतामैत्री शब्दावली प्रयोग गर्नुपर्ने माग गरेको छ । मिडियाहरूले अपांगता भएका व्यक्तिसँग सम्बन्धित सामग्रीमध्ये ४० प्रतिशतमा शब्द अपांगतामैत्री नभएको भन्दै मिडियालाई शब्द चयनमा ध्यान दिन आग्रह गरिएको हो ।
संघले २०२३ जनवरीदेखि डिसेम्बरसम्म विभिन्न राष्ट्रिय दैनिकलगायत सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार र लेख–रचनामा अनुगमन सर्वेक्षण गरेको थियो । सर्वेक्षणले प्रयोग भएका शब्दमध्ये ६० प्रतिशत मात्र अपांगतामैत्री शब्दावली प्रयोग भएको देखाएको थियो । मिडियाहरूले कुनै पनि सामग्री प्रकाशनमा ल्याउँदा अपांगता भएका व्यक्तिलाई असर पर्ने विषयमा विशेष ध्यान दिन आग्रह गर्दै बुधबार पत्रकारहरूसँग काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा ‘मानव अधिकार र अपांगतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रियस्तरको मिडियामा प्रकाशित बौद्धिक अपांगता भएका व्यक्तिहरूसम्बन्धी समाचार रिपोर्ट’ सार्वजनिक गरिएको थियो । संघका अध्यक्ष राजु बस्नेतले अपांगताको सम्बन्धमा प्रकाशित समाचारमा अपांगतामैत्री शब्दावली नपर्नुमा यस सम्बन्धमा अझै पनि बुझाउनुपर्ने दायित्व कायमै रहेको बताए । इन्डिपेन्डेट लिभिङ सेन्टरका अध्यक्ष भोजराज श्रेष्ठले अपांगताको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिका लागि सञ्चारमाध्यमको विशेष सहयोग रहेको बताए ।