विश्वव्यापी सञ्जाल फैलिएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको हो ।
कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने गरी क्यानमा विन्टर सेड्युल पेस गरेको थियो । सोहीअनुसार कतारले दोहा–भैरहवा–काठमाडौं–दोहा कुल १९ वटा उडान गर्न अनुमति पाएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । दोहाबाट आएको कतारको जहाज दिउँसो २:४५ बजे भैरहवा अवतरण गरी ४:४५ बजे काठमाडौंका लागि उडान गर्नेछ । काठमाडौंबाट ६:५५ बजे कतारका लागि उडान गर्नेछ ।
कतारले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आइरहेको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुन थालेपछि कतारका दैनिक दुईवटा उडान कटौती भएका छन् । काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवालाई ट्रान्जिट बनाएर एउटा उडान गर्न लागेको हो ।
सातामा २४ अन्तर्राष्ट्रिय उडान
कतार थपिएपछि भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ । यसअघि १८ कात्तिकदेखि थाई एयर एसिया र २४ कात्तिकदेखि जजिरा, फ्लाई दुबई र नेपाल वायुसेवा निगमले उडान थालेका छन् । अब भैरहवामा सातामा २४ अन्तर्राष्ट्रिय उडान हुनेछन् । भैरहवामा विज एयरले पनि नियमित उडानको तयारी गरिरहेको छ ।
कतार एयरवेजको एसियासहित युरोप र अमेरिकासम्म विश्वव्यापी कनेक्टिङ फ्लाइट भएकाले भैरहवाबाटै विश्वभर यात्रा गर्न सहज हुने भएको छ । कतारले तत्काललाई १५ मंसिरसम्म उडान गर्ने अनुमति मागे पनि बिस्तारै भैरहवामा नियमित उडान गर्ने अपेक्षा क्यानको छ ।
२ जेठ ०७९ देखि सञ्चालनमा आएको भैरहवा विमानस्थलमा अढाई वर्षपछि अन्तर्राष्ट्रिय वायुसेवाको चहलपहल बढेको छ । काठमाडौंमा उडान कटौती भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूले भैरहवा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा स्वीकार गर्न थालेका हुन् ।
दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन विमानस्थलमा २३ कात्तिकदेखि १८ चैतसम्म १४ घण्टा मात्र उडान–अवतरण हुन थालेको छ । दैनिक सात घण्टा उडान आवर घटेपछि करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती गरिएको छ ।