कुकुर तिहारमा वन कुकुरको चर्चा

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

कुकुरलाई हामीले हरेक दिन हाम्रो वरिपरि देखिरहेका हुन्छौँ। धेरै मानिसहरूले विभिन्न प्रजातिका घरपालुवा कुकुरहरू पालिरहेका हुन्छन्। घरपालुवा कुकुर र मानवबिचको सम्बन्ध वर्षाैंदेखि रहिआएको पाइन्छ। त्यसैगरी, हरेक वर्ष नेपालमा तिहारको दोस्रो दिन कुकुर तिहार पनि मनाइन्छ। घरपालुवा कुकुरलाई त सबैले चिनिन्छन्, तर जंगलमा पाइने वन कुकुरलाई चिन्ने वा यससम्बन्धी जानकारी भएका मानिसहरू कमै हुन्छन्।

वन कुकुर र घरपालुवा कुकुरमा समानता र भिन्नता
संसारभर मानिसको असल साथीको रूपमा चिनिने घरपालुवा कुकुर हजारौँ वर्षदेखि मानव जीवनमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको छ। एसियाली जंगलमा स्वतन्त्र रूपमा जीवन बिताउँदै आइरहेको वन कुकुर भने मानिसहरूबाट टाढा बस्न रुचाउँछन्। घरपालुवा कुकुरहरूका अनेकौँ प्रजातिका पाइन्छन्। तर, वन कुकुर एउटै मात्र प्रजातिमा पाइन्छ। जसका ११ वटा उप–प्रजाति रहेका छन् । घरेलु कुकुर र वन कुकुर दुवै प्रजाति समूहमा बस्ने, एक-अर्कामा सहकार्य गर्दै आहारा खोज्ने गर्छन्। वन कुकुरहरू मिलेर सिकार गर्छन्। दुवै प्रजाति एक-अर्कालाई सन्देश आदानप्रदान गर्न विशेष प्रकार आवाज निकाल्ने र शारीरिक संकेत प्रयोग गर्छन्। वन कुकुर भुक्दैनन्, तर जंगलमा ठुलो दूरीमा एक-अर्कासँग संवाद गर्न सिट्टीजस्तो आवाज निकाल्छन्। 

वन कुकुर समुन्द्र सतहदेखि ५३०० मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबर वन, उष्ण वर्ष, खुला मैदानलगायतका बासस्थानमा पाइन्छ। वन कुकुर नेपाल, भारत, चीन, बंगलादेश, भुटान, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, नेपाल, थाइल्यान्ड र लाओस गरी ११ देशमा पाइन्छ। दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा मात्र पाउने यस प्रजातिको वयस्क संख्या नौ सय ४९ देखि दुई हजार दुई सय १५ छ। जुन संख्या बाघ र चितुवाको संख्याभन्दा कम हो। हालका अध्ययनअनुसार वन कुकुर अझै घट्दो क्रममा छ। नेपालमा भने वन कुकुरहरू समुन्द्र सतहदेखि चार हजार तीन सय ५० मिटरसम्म पाइने एक अध्ययनमा उल्लेख गरिएको छ। 

वन कुकुर र बिरालोबिचको सम्बन्ध
घरमा जस्तै वनमा पनि कुकुर बिरालोको सम्बन्ध रोचक छ। बिरालो प्रजातिको बाघ र चितुवा तथा कुकुर प्रजातिको वन कुकुर दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा पाउने शीर्ष सिकारी प्रजातिहरू हुन्। जसमा दुई ठुला बिराला प्रजातिहरू एक्लै बस्छन्। वन कुकुर भने समूहमा बस्छन्। नेपालको तराई क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्जहरूमा बाघहरू धेरैजसो घाँसे मैदान तथा नदीतटीय वन क्षेत्रमा बस्छन्। वन कुकुरहरू सुक्खा खोला हुँदै चुरेको जंगलमा देखिन्छन्। चितुवाहरू सालको जंगल, पशुधन रहेको जंगल, गाउँ वस्तीको सीमा क्षेत्रहरूमा धेरै देखिन्छन्। यी तीन प्रमुख सिकारी प्रजातिबिचको सम्बन्ध सामाजिक पदानुक्रमअनुसार बाघ, वन कुकर त्यसपछि मात्र चितुवा रहेको छ। वन कुकुरजस्तो सानो आकारको मझौला सिकारी प्रजाति सामाजिक र समूहमा बस्ने भएकोले आफूभन्दा ठुला बिरालो समूह फेलिड (बाघ, चितुवा आदि)परिवारको प्रजातिसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छ।

बाघहरू सामान्यतः आफ्नो प्रतिस्पर्धीहरू वन कुकुर र चितुवासँग मिलेर बस्छन्। जब पर्याप्त सिकार पाउँछन्, तब तीनवटै मांसाहारीहरू एक-अर्कालाई खतरा नभई एक अर्कासँग सहअस्तित्व गरी बस्छन्। जब एउटै क्षेत्रमा तीनै सिकारीहरू एउटै सिकार र स्रोतहरूमा निर्भर हुन्छन्, तब तिनीहरूमा प्रतिस्पर्धा उच्च हुने र नकारात्मक प्रभाव हुने देखिन्छ। यद्यपि, यी तीनै प्रजातिहरूले एउटै ठाउँमा सह–अस्तित्व कायम गर्न विभिन्न उपाय अपनाउँछन्। वन कुकुर र चितुवा बाघले तयार गरेको दायराभित्र गएर सिकार गर्दैनन्। त्यस्तै, दिउँसो बाघ कम सक्रिय भएको वेला चितुवा बढी सक्रिय देखिन्छ। यिनीहरू एक-अर्कासँग मिलेर बस्दा पारिस्थितिक प्रणालीमा सन्तुलन पनि कायम हुन्छ। यिनीहरूको शारीरिक बनावट र प्रतिस्पर्धात्मक क्षमताको आधारमा बाघहरू (१८०–२४५ के.जी.) शीर्ष सिकारीहरू मानिन्छ। त्यसपछि चितुवा (४६–६५ के.जी.) र वन कुकुरहरू (१२–१८ के.जी.) आउँछ । एक अध्ययनअनुसार बाघहरूले १७६ के.जी. भन्दा धेरै तौलको सिकार रुचाउँछ जब कि चितुवा र वन कुकुरले ३०–१७५ के.जी. सम्म तौलको सिकार गर्छ। बाघ, चितुवा र वन कुकुरबाट मारिएको प्रमुख सिकारहरूको औसत तौल क्रमशः ९१.५ के.जी., ३७.६ के.जी. र ४३.४ के.जी. हुन्छ। बाघको सिकारमा चित्तल, जरायो, बँदेल, गौरीगाई आदि पर्छ भने वन कुकुरले चित्तल, जरायो आदिको सिकार गर्छ। ठुलो प्रजातिका बाघले ठुलो नै सिकार गर्छ। सानो प्रजातिका चितुवा र वन कुकुरले सानो नै सिकार गर्छ। 

किन गर्ने वन कुकुरको संरक्षण?
वन कुकुरहरु क्यानिड परिवारमा क्युन वर्गका अन्तिम प्रतिनिधि हुन् । यिनीहरु लोप भएमा जीव विज्ञानको इतिहासको एक सम्पूर्ण भाग सधैका लागि नष्ट हुनेछ । वन कुकुरहरुको परिस्थितिक प्रणालीमा महत्वपुर्ण भूमिका हुनुका साथै जैविक विविधतामा पनि महत्वपूर्ण योगदान रहेको छ । वन कुकुरहरु प्रमुख शिकारी प्रजाति भएको हुनाले यसले आहाराजन्य प्रजातिकाहरुको नियमनमा सहयोग पुर्याउँछ । यिनीहरु बिना आहाराजन्य प्रजातिहरुको अनियन्त्रित वृद्वि भई मानव वन्यजन्तुबीच द्न्द बढ्दै जान्छ । 

वनको चरी वनमै रमाउछ भनेझै वन कुकुर पनि वनमै रमाउने भएकाले वर्षौ वन तथा निकुञ्जमा सेवा समर्पित मानिसहरुको पनि विरलै जम्काभेट भएको पाइन्छ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हालै प्रकाशन गरेको सर्वेक्षणअनुसार वन कुकुरको सन् २०१८ र २०२२ को राष्ट्रिय बाघ गणनाको लागि राखिएको क्यामरा ट्रपको डाटालाई आधार मान्ने हो भने यसको संख्या ह्वात्तै घटेको देखिन्छ । सन् २०१८ मा ४१ ठाउँको क्यामराले वन कुकुरको ६५ वटा फोटो खिचेको थियो । सन् २०२२ मा यो संख्या घटेर १५ ठाउँमा मात्रै १७ वटा फोटो खिचेको थियो । यो तथ्यांक हेर्दा नेपालको वन्यजन्तुको बासस्थान राम्रो मानिएका संरक्षित क्षेत्रमा वन कुकुरको अवस्था खस्किदै गएको पाइन्छ ।

प्राकृतिक बासस्थानको क्षति जस्तै संरक्षित क्षेत्रभित्र तथा संरक्षित क्षेत्र बाहिर वनमा अतिक्रमण बढ्नु, आहाराजन्य प्रजातिहरुको संख्यामा ह्रास हुनु, विष तथा पासोहरु प्रयोग गरी मार्नु, यसको आवातजावातको लागि वन्यजन्तु मैत्री विकासको पूर्वाधारहरु निर्माण हुन नसक्नु, घरपालुवा कुकुरबाट रेविज रोग सर्नु तथा अन्य शिकारी प्रजातिहरु जस्तैः बाघ, चितुवा, हिउँ चितुवा तथा ब्वाँसोसँग हुने आहारा प्रतिस्पर्धा गर्नु वन कुकुर संरक्षणको मुख्य चुनौतीहरु हुन् । यसको संरक्षणको लागि वन कुकुर सम्बन्धी नीति नियम बनाउने, आवश्यक अध्ययन अनुसन्धान बढाउने, यसको महत्व र आवश्यकताबारे सम्वन्धीत निकायदेखि समुदायसम्म जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्छ । 

हरेक बर्ष कुकुर तिहार मनाउँदा हामीले घरपालुवा कुकुरहरुलाई मात्र होइन, वनमा पाइने दुलर्भ वन कुकुरलाई पनि सम्झनुपर्ने देखिन्छ । हिन्दु धर्मअनुसार कुकुरहरुलाई यमराजका साथीको रुपमा मानिन्छ, जसले नर्कको द्वार रक्षा गर्छन् । कुकुरको पूजा गर्दा कुकुरहरुले मानिसहरुलाई नर्कको यातनाबाट उनीहरुलाई सुरक्षित गर्छ भन्ने विश्वास गरिन्छ । कुकुर तिहार केवल घरपालुवा कुकुरप्रतिको माया र आदरको प्रतीक मात्र नभई संकटापन्न अवस्थामा रहेको वन कुकुर प्रतिको सम्मान र संरक्षण शिक्षा दिने दिनको रुपमा पनि लिऔं । यसरी हामीले कुकुर तिहार मनाउँदा वन कुकुर संरक्षणको महत्वलाई बुझ्न र मानव वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्न प्रोत्साहन गर्न सकिन्छ । त्यसैले वन कुकुरको संरक्षणको लागि सहकार्य गरौं । यसको लोप हुनबाट बचाऔं  ।

सुझावित समाचार