इरानका सैन्य आधारमा इजरायलको क्षेप्यास्त्र हमला

आफूसँग प्रतिरक्षाको अधिकार रहेको उल्लेख गर्दै इजरायलमाथि जवाफी आक्रमण गर्ने तेहरानको तयारी

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

इजरायलले इरानका विभिन्न सैन्य आधारमा हवाई आक्रमण गरेको छ । इजरायली सेनाले शनिबार इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको हो । राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको इरानले पुष्टि गरेको छ । हमलामा दुई इरानी सैनिक मारिएका छन् । इजरायलले इरानमा गरेको हमलाको बदलामा हेजबुल्लाह समूहले इजरायली सैन्य आधारहरूमा रकेट र ड्रोन हमला गरेको छ । इरानले आफूसँग ‘प्रतिरक्षाको अधिकार रहेको उल्लेख गर्दै इजारयलमाथि जवाफी हमला गर्ने संकेत गरेको छ । 

इजरायलले आफूमाथि भएको क्षेप्यास्त्र आक्रमणको बदला  दिने वाचा गरेको थियो । दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलोपटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।  ‘इजरायली सुरक्षा बल (आइएएफ)को विमानले इरानको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरूमा प्रहार गरेको छ,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘आइडिएफले अतिरिक्त इरानी हवाई आधार र निसानाहरूमा  प्रहार गरेको छ ।’ इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकारस्वरूप इरानी सैन्य लक्ष्यहरूमा सटिक आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ । तीन साताअघि इरानले इजरायलमा करिब दुई सयवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तर, ती क्षेप्यास्त्रलाई इजरायलले मध्य आकाशमा नै निस्तेज बनाइदिएको दाबी गरेको थियो । शनिबारको आक्रमणपछि इरानले केही घण्टा सबै उडान स्थगित गरेको थियो ।  सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि इजरायलले गाजामा हमाससँग लडिरहेको छ । गत महिनाको अन्त्यदेखि इजरायल लेबनानमा हेजबुल्लाहसँगको युद्धमा छ । पछिल्लो समय इजरायालले लेबनानका विभिन्न स्थानमा हमला गर्दै आएको छ । इजरायली सेनाले लेबनानका निश्चित क्षेत्रमा स्थल हमला पनि गरेको छ ।

हामीसँग प्रतिरक्षाको अधिकार छ : इरान 
हवाई हमलाबारे प्रतिक्रिया जनाउँदै इरानले आफूसँग ‘प्रतिरक्षाको अधिकार रहेको’ बताएको छ । ‘इस्लामिक गणतन्त्र इरान आक्रमणका कुनै पनि कदमविरुद्ध प्रतिरक्षा गर्ने अधिकार आफूसँग राख्दछ’ संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ को व्यवस्था उद्धृत गर्दै इरानको विदेश मन्त्रालयले भनेको छ । 

यसअघि इरानको तस्निम समाचार संस्थाले पनि इरानले कुनै पनि आक्रमणको प्रतिवाद गर्ने र इजरायलले चालेको कदमअनुसारको जवाफ पाउने’ जनाएको थियो । मध्यपूर्वका युएई, साउदी अरब, कतार र इजिप्टसहितका अरब राष्ट्रहरूले इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बारको हमलामा दुई इरानी सैनिकको मृत्यु भएको तेहरानले जनाएको छ । यसैबिच, बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इरानले इजरायली हमलाको जवाफ दिन नहुने बताउँदै उक्त क्षेत्रको तनाव मत्थर पार्न साझेदारहरूलाई सुझाव दिएका छन् । 

बदलापूर्ण हमला नगर्न इरानलाई अमेरिकी दबाब
संयुक्तराज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । ‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्वको चक्र अन्त्य गर्न सकियोस्,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सिन साभेटले पत्रकारहरूलाई भने । इजरायली सेनाले इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा गरेको आक्रमणको भने अमेरिकाले निन्दा गरेको छैन् । बरु अप्रत्यक्ष रूपमा समर्थन जनाएको छ ।  ‘इजरायली हमला आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसंख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्य केन्द्रित आक्रमण गरेको थियो,’ उनले भने । इजरायलले इरानमा गरेको अक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताउँदै उनले भने, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।’ ह्वाइटहाउसले इजरायलको ‘आत्मरक्षाको अभ्यास’अघि आफूलाई त्यसबारे बताइएको जनाएको छ । गाजाविरुद्धको हमलामा अमेरिकाले सुरुदेखि नै इजरायलको समर्थन गर्दै आएको छ । 

 

सुझावित समाचार