‘हेक्का रहोस्, सरकार खरानीको डल्लो होइन, लगभग दुईतिहाइको हो’

बिहिबार, १ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सरकार फेरिने चर्चा हल्ला मात्रै भएको भन्दै पूरा अवधि काम गर्ने दाबी गरेका छन् । बुधबार नेपाल प्रहरीको ६९औँ वार्षिकोत्सवमा ओलीले कांग्रेस र एमालेजस्ता ठुला पार्टी मिलेर बनेको दुईतिहाइको सरकार सजिलै फुट्ने खरानीको डल्लो नभएको बताएका हुन् । 

‘यस विषय (सरकार नढल्ने)मा सबैलाई ढुक्क रहन म आग्रह गर्छु । नेपालको राजनीति, अर्थतन्त्र परिवर्तनमा ठुलो योगदान दिने कांग्रेस र एमालेजस्ता पार्टी मिलेर अहिले सरकार चलाइरहेका छन् । सरकार लगभग दुईतिहाइको छ,’ उनले भने, ‘यसमा सबैको हेक्का रहोस्, यो खरानीको डल्लो होइन । कांग्रेस र एमाले जसको इतिहास मुलुकको विकास गर्नेसँग जोडिएको छ ।’

ओलीले सहमतिअनुसार आफू अब एक वर्ष नौ महिना सरकारको नेतृत्वमा रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने दोहोर्याए । ०८४ को चुनाव देउवाकै नेतृत्वमा हुने पनि बताए । ‘अहिले दिनैपिच्छे सरकार परिवर्तनका कुरा सुनिन्छ । दसैँपछि तुरुन्तै सरकार परिवर्तन हुन्छ रे । तर, कुन दसैँमा भन्या हो ? ०८४ सालको दसैँपछिको चुनावमा ? त्यो त ठिकै हो,’ उनले भने, ‘एक वर्ष नौ महिनाजति होला म हुने । त्यसपछि शेरबहादुरजीलाई सत्ता हस्तान्तरण हुन्छ । मैले यस विषयमा पहिले नै भनिसकेको छु । त्यसो हुँदा आफैँ फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । चुनाव उहाँकै नेतृत्वमा हुन्छ । त्यसपछि चुनावबाट जो आउँछ, त्यसले सरकार बनाउँछ ।’ 

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक विधिबाट कुनै हालतमा सरकार परिवर्तन नहुने बताए । सभ्य र सुसंस्कृत समाजमा अलोकतान्त्रिक विधिबाट सरकार परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै रहेको उनको दाबी छ । उनले भने, ‘अलोकतान्त्रिक विधिबाट सरकार परिवर्तन गर्ने विषय आफैँमा अलोकतान्त्रिक हो । यस्ता विषय सभ्य र सुसंस्कृत समाजभित्र पर्दैनन् । यस्ता विषयमा कुनै प्रकारका भ्रममा नपर्न सबैमा आग्रह गर्छु ।’

नेपाल प्रहरीको ६९औँ वार्षिकोत्सवमा प्रधानमन्त्री केपी ओलीले भने– अहिले दिनैपिच्छे सरकार परिवर्तनका कुरा सुनिन्छ । दसैँपछि तुरुन्तै सरकार परिवर्तन हुन्छ रे । तर, कुन दसैँमा भन्या  हो ? ०८४ सालको दसैँपछिको चुनावमा ? त्यो त ठिकै हो । एक वर्ष नौ महिनाजति होला म हुने । त्यसपछि शेरबहादुरजीलाई सत्ता हस्तान्तरण हुन्छ । त्यसो हुँदा यो सरकार आफैँ फेरिन्छ । चुनाव शेरबहादुरजीको नेतृत्वमा हुन्छ । नेपालको राजनीति, अर्थतन्त्र परिवर्तनमा ठुलो योगदान दिने कांग्रेस र एमाले मिलेर अहिले सरकार चलाइरहेका छन् । सरकार लगभग दुईतिहाइको छ । यसमा सबैको हेक्का रहोस् । यो खरानीको डल्ला होइन । 

सुझावित समाचार