संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी तथा कर्मचारीका लागि गाडी किन्ने प्रक्रिया अगाडि बढाएको छ । करिब ५४ लाख रुपैयाँको मोटरसाइकल र स्कुटी खरिद गरिसकेको छ । संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाअन्तर्गतको सवारीसाधन व्यवस्थापन शाखाका अनुसार १२ वटा स्कुटर र १० वटा मोटरसाइकल ठेक्का प्रणालीबाट खरिद गरिएको हो । खरिद गरिएका सवारी उपसचिवदेखि शाखा अधिकृतसम्म संसद् सचिवालयका कर्मचारीलाई वितरण गरिएको छ ।
महाशाखा प्रमुख सुरजकुमार दुराले करिब ५४ लाखबराबरको सवारी ठेक्का प्रणालीमार्फत खरिद गरेर आवश्यकताका आधारमा कर्मचारीलाई वितरण गरिएको बताए । उनका अनुसार टिभिएस कम्पनीको स्कुटर र बजाज कम्पनीको मोटरसाइकल खरिद गरिएको हो ।
सरकारले आर्थिक वर्ष ०८१/८२ का लागि सवारीसाधन शीर्षकमा संसद् सचिवालयलाई चार करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५४ लाखको खरिद गरिसकेको हो । मोटरसाइकल र स्कुटी एक लाख ९९ हजारदेखि दुई लाख २७ सम्मको मूल्यमा खरिद गरिएको सवारी शाखाले जनाएको छ ।
संसद् सचिवालयले साढे तीन करोड रुपैयाँमा आठवटा कार खरिद गर्दै छ । यसका लागि सोमबार आह्वान भइसकेको छ । योजना व्यवस्थापन महाशाखा प्रमुख दुराले बाँकी रहेको तीन करोड ६० लाख बजेटमा आठवटा कार खरिद गर्न टेन्डर आह्वान गरिएको बताए ।
आठवटा कारमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुख, एकजना पूर्वभिभिआइपी र चारवटा सचिवालय प्रयोजनका लागि खरिद गर्न लागिएको हो । सचिवालयमा तीनवटा सहसचिव र एकजना अन्यले कार चढ्नेछन् ।
आठवटै विद्युतीय कार हुनेछन् । इभी गाडीका कम्पनीहरूले बोल बढाबढ गरेर टेन्डर दाबी गर्नेछन् । आवेदनका लागि गाडीको निश्चित मापदण्ड तोकिएको दुराले बताए । ‘मापदण्ड पूरा गर्ने र न्यून मूल्य कबोल गर्ने इभी कम्पनीले ठेक्क पाउँछ । दसैँलगत्तै नयाँ गाडी आउँछन्,’ उनले भने । यसगैरी, चीनबाट दुइटा बस पनि आउँदै छन् ।
उपसभामुख इन्दिरा रानाको भ्रमणका वेला चीनसँग दुइटा बस सहयोग गर्ने सम्झौता भएको थियो । सवारी शाखाका अनुसार दुइटा बस दिने भनिए पनि सम्झौताले मूर्त रूप लिइसकेको छैन । अब दसैँ–तिहारपछि संसद् सचिवालयका कर्मचारी बोक्ने बस प्राप्त हुने अपेक्षा सचिवालयका पदाधिकारीको छ ।