धित मरुन्जेल पानी पिउने अधुरो सपना

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
धित मरुन्जेल पानी पिउने अधुरो सपना

पानी थाप्न धाराको छेउमा स्थानीयले राखेका भाँडावर्तन

२६० घरधुरीका लागि बनाइएका चारवटा सार्वजनिक धारामा दैनिक चार घण्टाका दरले आउने पानीको भरमा छन् जुम्लाको रारा गाउँका स्थानीय, पानीको निहुँमा सधैँ हुन्छ मनमुटाव

तिला गाउँपालिका–१, रारा गाउँमा खानेपानीको चरम समस्या छ । त्यसैले यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । गाउभरिमा ०३५ सालमा निर्माण गरिएका चारवटा मात्रै सार्वजनिक खानेपानीका धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका २६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् ।

धारामा नियमित पानी पनि आउँदैन । कहिले काहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको दूषित पानी पिएर तिर्खा मेटाउन यहाँका बासिन्दा बाध्य छन् ।

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै जाँदा आगामी दिनमा पिउने पानीको संकट झन् बढ्ने चिन्ता पनि थपिँदै गएको छ । पानीको मूल पनि बिस्तारै सुक्न थालेको छ । खपतअनुसार पानी वितरण नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।

रारा गाउँवरिपरि पर्याप्त उर्वर जमिन पनि छ । तर, सिँचाइ अभावले रारा गाउँ नै मरुभूमिजस्तो भएको छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीय धनराज रावतले गुनासो गरे । ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातीत तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,’ रावतले भने, ‘नदीको पानी खेर गइरहेको छ । सुक्खा जमिनमा उभिएर तिला नदी हेरेर बस्छौँ ।’ 

१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्ने विवरण स्थानीय कसैलाई थाहा पनि दिइएको छैन । सो आयोजनाका लागि भनेर ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिंग अवस्थामा फालिएको भेटिन्छ । 

गत वर्षदेखि बनाउन थालेको चार करोडको आयोजनाको पनि बजेट फ्रिज
गत आर्थिक वर्ष ०८०/८१ देखि रारा गाउँका लागि खानेपानी आयोजना निर्माण थालिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । तीन वर्षभित्र खानेपानी पुर्याउने गरी संघीय बजेट, गैरसरकारी संस्था युएनडिपी र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानी आयोजना निर्माण सुरु भएको उनले जानकारी दिए ।

रारा गाउँदेखि खानेपानीको मुहानसम्मको संरचना १५ किलोमिटर टाढा छ । गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले चार करोडको आयोजनाका लागि गत आवमा दुई करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । ‘निर्माण कम्पनीले पेस्कीबापत ७० लाख लिए, तर काम अघि नबढाइदिँदा एक करोड ३० लाख रुपैयाँ गत आवमा फ्रिज भयो,’ उनले भनिन् । गत वर्ष असारमा ७० लाख रुपैयाँ पेस्की लिएको निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीले अहिलेसम्म काम पनि सुरु गरेको छैन । निर्माण व्यवसायी दिनेशराज उपाध्यायले दसैँपछि काम सुचारु गर्ने जानकारी दिए । 

See More On

सुझावित समाचार