सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

दोलखावासी कर्मचारी र अन्य जिल्लाका कर्मचारीलाई वितरण गर्ने सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्।आयोजनामा कार्यरत झन्डै दुई सयजना करार कर्मचारीमध्ये दोलखाका एक सय एकजना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखावासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। 

आयोजनाले कार्यरत कर्मचारीमध्ये यसअघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई सय प्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो। आयोजनाका अधिकारीहरूका अनुसार २०७८ सालमा आयोजना सञ्चालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियो। 

उक्त निर्णय सुरुवातदेखि नै विभेदकारी भएको भन्दै जिल्लावासी कर्मचारी एकद्वार प्रणाली अपनाउन आग्रह गर्दै असन्तुष्टि राख्दै आएका थिए। पटक-पटक माग राख्दा पनि आयोजनाले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलन संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए।

उनले यसअघि पनि पटक-पटक एकद्वार प्रणालीले कर्मचारीलाई सेवा सुविधा दिन आग्रह गरे पनि दोलखावासी कर्मचारीलाई आयोजनाले विभेद गरेको र आन्दोलनको समेत बेवास्ता गरेकाले कडा संघर्ष गरिने जनाएका छन्। उनीहरूले एक साताअघि उक्त समस्याको समाधान गर्न आयोजनालाई अल्टिमेटम दिइएको र त्यसकोसमेत बेवास्ता गरेपछि शुक्रबारबाट दोलखावासी कर्मचारी काम छोडेर अनशन बसेका छन्। उनीहरूले आइतबारबाट आयोजनाका सबै सवारीसाधन आवागमन ठप्प पार्ने तयारी गरेको संयोजक खड्काले बताए। 

यता आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले तत्कालीन समयमा आयोजना सञ्चालक समिति बैठकले निर्णय गरेकोले उक्त निर्णय पुनरावलोकन गर्न बोर्ड बैठकमा लैजाने बताए। उनले आफूहरूले चाहेर कर्मचारीबिचमा विभेद नगरिएको जनाएका छन्।

शनिबार नेपाली कांग्रेस दोलखाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका चुनौती र समस्याबारे आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन चरिकोट पुगेका प्रमुख कार्यकारी अधिकृत गौतमले यस्तो बताएका हुन्। उनले आन्दोलनमा उत्रिएका कर्मचारीको समस्या समाधानका लागि आजै आयोजनास्थल पुगेर छलफल गर्ने बताएका छन्।

सुझावित समाचार