गत आर्थिक वर्षमा सडक र पुल निर्माणमा लक्ष्यभन्दा बढी काम

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण
गत आर्थिक वर्षमा सडक र पुल निर्माणमा लक्ष्यभन्दा बढी काम

मुग्लिन–पोखरा सडकअन्तर्गत मादी नदीमा निर्माणाधीन चार लेनको पुल । फाइल तस्बिर : नयाँ पत्रिका

केन्द्रीय सडकअन्तर्गत गत आर्थिक वर्ष ०८०/८१ मा देशभर २०२ वटा पुल निर्माण भएका छन् । सडक विभागबाट प्राप्त गत आवमा विभागले लक्ष्यको तुलनामा १३५ प्रतिशतको अनुपातमा पुल निर्माण गरेको देखिन्छ । गत आवमा विभागले १५० वटा पुल निर्माण गर्ने लक्ष्य लिएको थियो । तर, त्योभन्दा ५२ वटा बढी पुल निर्माण भएको विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले जानकारी दिए । 

यद्यपि, यो अघिल्लो आव ०७९/८० को तुलनामा भने ९ प्रतिशतले कम हो । अघिल्लो आवमा देशभर २२२ वटा पुल बनेका थिए । पछिल्लो समय निर्माण क्षेत्रमा देखिएको शिथिलता र बजेट अभावका कारण विभागले गत आवमा लक्ष्य नै कम राखेको थियो । लक्ष्य कम राख्दा भएको प्राप्ति बढी देखिएको विभागको भनाइ छ । तर, निर्माण क्षेत्रमा देखिएको शिथिलताको कारण अघिल्ला वर्षहरूको तुलनामा कम पुल निर्माण भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । विभागका अनुसार अहिले केन्द्रीय सडकअन्तर्गत झन्डै ३५ सयवटा पुल सञ्चालनमा छन् । पुलको संख्या बढेपछि आमसवारीसाधन तथा यात्रुलाई यात्रा गर्न सहज भएको श्रेष्ठको भनाइ छ । 

कति बने नयाँ सडक ?
गत आवमा केन्द्रीय सडकअन्तर्गत १६७ किमि नयाँ सडक निर्माण भएको छ । यो पनि विभागको लक्ष्यको तुलनामा १११ प्रतिशतको प्राप्ति भएको हो । विभागले समीक्षा वर्षमा १५० किमिबराबरको नयाँ सडक खन्ने लक्ष्य लिएको थियो । तर, त्योभन्दा १७ किमि बढी सडक निर्माण भएको विभागको भनाइ छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा ३१.२७ प्रतिशतले कम हो । अघिल्लो आवमा २४३ किमि नयाँ सडक निर्माण भएको थियो । गत आवसम्म गरेर देशभर ३४ हजार ४०६ किमि केन्द्रीय सडक विस्तार भएको छ ।

कालोपत्रेमा लक्ष्यभन्दा कम प्राप्ति
नयाँ सडक र पुल निर्माणमा लक्ष्यभन्दा बढी प्राप्ति भइरहँदा सडक कालोपत्रेमा भने लक्ष्यभन्दा कम काम भएको देखिन्छ । दुई लेनका सडक कालोपत्रेमा लक्ष्यको ८४.३८ प्रतिशत काम भएको छ । समीक्षा वर्षमा विभागले दुई लेनका ८०० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । त्यसमा ६७५ किमि सडक कालोपत्रे भएको देखिन्छ । तर, यसलााई सन्तोषजनक नै मान्नुपर्ने विभागका प्रवक्ता श्रेष्ठ बताउँछन् ।

समीक्षा वर्षमा दुईभन्दा बढी लेन भएका सडकको कालोपत्रेमा भने ५१.९३ प्रतिशत मात्रै लक्ष्य प्राप्ति भएको छ । गत आवमा विभागले दुईभन्दा बढी लेन भएका १५६ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । त्यसमा ८१ किमि मात्रै सडक कालोपत्रे भएको छ । अघिल्लो आवमा ८२० किलोमिटर सडक कालोपत्रे भएको थियो । गत आवमा दुई लेन र दुईभन्दा बढी लेनका गरेर ७५६ किमि सडक कालोपत्रे भएका छन् । गत आवमा सडक कालोपत्रे ८ प्रतिशतले कम भएको देखिन्छ । केन्द्रीय सडकअन्तर्गतका १८ हजार ८०८ किमि सडक कालोपत्रे भएका छन् ।

सडक ग्राभेलमा पनि देखिएन प्रगति
गत आवमा सडक ग्राभेलमा पनि लक्ष्यभन्दा कम काम भएको देखिन्छ । विभागले गत आवमा ४०० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । त्यसमा ३२८ किमि अर्थात् ८२ प्रतिशतको अनुपातमा सडक ग्राभेल भएको छ । अघिल्लो आवमा ६२८ किमि सडक ग्राभेल भएको थियो । त्योअनुसार गत आवमा ३०० किमि अर्थात् ४८ प्रतिशत कम सडक ग्राभेल भएको छ ।

आर्थिक शिथिलताले पूर्वाधार निर्माणको लक्ष्य नै कम
पछिल्लो दुई वर्षदेखि निर्माण क्षेत्र शिथिल अवस्थामा छ । केन्द्रीय तथ्यांक कार्यालयले पनि पछिल्लो दुई आवमा निर्माण क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक नै भएको बताएको छ । बिचमा निर्माण सामग्रीको मूल्य बढेको थियो । साथै, सरकारले पनि निर्माण कम्पनीहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्यसले गर्दा सडक तथा पुल निर्माण प्रभावित भएको विभागको भनाइ छ ।

बजेट अभाव र निर्माण क्षेत्र शिथिल अवस्थामा भएपछि गत आवमा लक्ष्य नै कम राखिएको थियो । त्यो अवस्थामा नयाँ सडक र पुल निर्माणमा भएका काम लक्ष्यभन्दा बढी देखिएका छन् । तर, अघिल्ला वर्षको तुलनामा त्यस्तो निर्माणमा गिरावट आएको छ । सडक कालोपत्रे र ग्राभेल भने लक्ष्य र विगतको वर्षहरूको तुलनामा पनि कम छ ।

सुझावित समाचार