ब्लग– म रोएको दिन

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

आजभन्दा ३४ वर्षअघि म च्याँच्याँ गर्दै रोएको दिन। अर्थात् म जन्मेको दिन। मेरो बुबाको कद बढेको दिन । जिम्मल गाउँमा खुसी छाएको दिन। भारी भएको मेरो बुबाको मन, कठिन मेरी आमाको प्रसव पीडा अनि परिवारको खुसीसहित कान्छो छोराको रूपमा आजैको दिन म आमाको गर्भबाट धरामा पाइला टेकेको दिन।

मेरो आमाबुबाको आँखा खुसीका आँसुले भरिएको दिन। मेरा बाबाआमा दोस्रोपटक अभिभावक बनेको दिन। मैले पहिलोपटक आँखा खोलेर संसार देखेको दिन। अनि आमा र बुबा खुसी भएको दिन।

आजैको दिन बुबामाथि थप जिम्मेवारी बढेको दिन। दाइले भाइ पाएको दिन। सखाहरूले खेल्ने साथी पाएको दिन। सायद मेरी आमाले बुबालाई भेटेको दिन, मायाप्रीति लगाएको दिन बिर्सनुभयो होला। उहाँहरूको विवाहको मिति पनि बिर्सनुभयो होला। आफ्नै जन्मदिन बिर्सनुभयो होला। जीवनका अति दुःखद पलहरू बिर्सनुभयो होला। तर, कहिल्यै बिर्सिनुहुन्न मलाई जन्माएको दिन, मेरो जन्मदिन।

भदौको महिना। गर्मीयाम सकिएर पनि चिसो सुरु भइसकेको थियो। करेसामा घडी फूल फुलेका, बोटबिरुवाले दसैँलाई स्वागत गर्न रंग फेरिरहेका, बुकीफूल र टुनीले मलाई जन्मिनुपूर्व प्रतीक्षा गरिरहेका थिए होला।

गोरखा जिल्लामा हजुरबुबाको पूर्व फर्केको खरले छाएको माटोको सानो घरको मझेरीको भुइँमा जन्मेको भुइँमान्छे हुँ म।  सुगम र सुविधाजनक ठाँउमा जन्मन पाइन। धन्न गाउँका सोडेनी आमाहरू थिए र सालनाल पत्तिले  काटेको रे । नत्र त अरूको जस्तै हँसियाले नै काटिन्थ्यो होला  मेरो सालनाल पनि ।

मेरो बाको आफ्नै  पौरखको घर थिएन। बाले कुनै ‘इलम’ नगरेका कारणले होला हामी दुःखमा बाँच्यौँ। र, दुःखमै हुर्कियौँ । म जन्मेपछि हजुरबुबाले आमाबालाई धनसारमा छुट्याएर राखिदिनुभएछ। पल्लाघरे माइलीआमैले एकताका मलाई भन्नुहुन्थ्यो, ‘तँ ब’ज्या नांगै हिँड्थिस्, वीरेकी श्रीमतीले आमाको  निकै  पुरानो फाटेको  फरियाको भोटो तुनेर ल्याइदिन्थी र त्यही लगाउँथिस् अहिले आएर सुकिलो हुन नखोज्। बस् चकटी तानेर।’

आज म भौतिक दूरीले बाआमाभन्दा टाढा छु। मेरा बालसखा र दौँतरीहरूबाट कैयौँ माइल टाढा मरुभूमिको देश कतारमा छु। मरुभूमिको देश पनि के भन्ने, पछिल्लो समय मध्यमवर्ग र निम्न वर्गका अधिकांश युवाको रोजाइको देश भएको छ, अरब देशहरू पनि।

आज एकाबिहानै आमाले फोन गर्नुभयो। हेल्लो भन्न नपाउँदै– जन्मदिनको आशीर्वाद कान्छा भन्नुभयो। म भक्कानिएर रोएँ। आफूले नखाएर मलाई खुवाउने मेरी आमा। आफूले फाटेको लगाएर मलाई नयाँ कपडा लगाइदिने मेरो बुबा। हरेक क्षणमा म मुस्कुराएको देख्न चाहने मेरो परिवार। यो महान् शब्द ‘आमाबुवा’को म कसरी वर्णन गरूँ ?  कहिले ‘आमाबुबा’प्रतिको अभिभारा पूरा गर्न सकुँला ? मेरो जीवनका धेरै लक्ष्य छन्, पूरा होलान्–नहोलान्। तर, हरेक छोराहरूले सधैँ भगवानरूपी आमाबाबासँगै हुन पाउँ भनी प्रार्थना गरून्। 

साँच्चै आफू जन्मेको दिन भन्नेबित्तिकै त्यो दिन निकै उज्यालो हुँदोरहेछ, रमाइलो हुँदोरहेछ, आनन्दित हुँदोरहेछ। अनि सामाजिक सञ्जालबाट, फोन, म्यासेज आदिबाट सबैको शुभकामनारूपी सन्देशहरू केलाइरहँदा पनि उत्तिकै हर्ष लाग्दो रहेछ।

कति वेला लाग्छ, समयले बिस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागि प्रयत्न गर्दै छ। मेरो मतलब– मलाई बुढो बढाउँदै छ। बुढो हुनुको अर्थ हो बाँच्ने समय कम हुनु। हिजो, आज, भोलि, एक दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै यो संसारमा बाँच्ने दिनहरू कम हुँदै छन्। तर, मान्छेले सत्कर्म गर्याे भने बाँचेको एक पलले पनि उसलाई  जीवन्त बनाइराख्न सक्छ।

जीवनमा मैले बुबाबाट राजनीतिक  संस्कार पाएँ। राजनीति गर्ने प्रेरणा पाएँ । आजको समय कुनै पनि बाबुले आफ्नो छोरालाई नेता बन सायदै भन्छन् होला। स्कुलमा सरहरूको ‘बाबु तिमी ठुलो भएपछि के बन्ने ?’ भन्ने प्रश्नमा कुनै पनि बच्चाले म राजनीति गर्छु, नेता बन्छु, भन्दैन होला । तर, मैले आजसम्मको उमेरमा बुबाबाट राजनीति र आमाबाट दया, करुणा अनि दाइबाट शिक्षा पाएँ। अपवादबाहेकका साथीहरूबाट सर्वथा स्वार्थ र आफन्तहरूबाट धोका  खाएको छु। साँच्चै भन्नुपर्दा आजको जन्मदिनमा पनि म रोएको छु।

सुझावित समाचार