अमेरिका शृंखलामा रहेको नेपथ्य न्युयोर्कमा गुन्जियाे

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झन्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे। धुन बज्दाबज्दैको क्षण उनले बिचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौँ है।’ प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुने गरी दर्शकले समर्थन जनाए। अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौँ आयोजना पनि न्युयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ।

विश्वकै केन्द्र मानिने यो सहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको सहर हो। यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दै गर्दा उत्साही नेपालीको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेकाे थियाे। उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्युयोर्क सहरमा भित्र्याइएको थियो।
 
निर्धारित समयअनुसारै कन्सर्ट शनिबारको बेलुकी ठीक ९ बजे सुरु भएको थियो। नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा, गीतहरूको बिचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो। उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए। कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए।

कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिंगै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो। ‘नेपाली भाषा रहुन्जेल हामी नेपाली रहिरहनेछौँ,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है।’

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’जस्ता प्रस्तुतिमार्फत चरमोत्कर्षमा पुर्याएको देखिन्थ्यो।

न्युयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टर रहेका समन अर्याल यो ठाउँ आएको दुई वर्ष भयो। उनी पहिलोपटक नेपथ्यको कन्सर्ट अनुभव गरिरहेका थिए। ‘सबैको समयको कदर गर्दै समयमा सुरु भएको यो कार्यक्रमको प्रत्येक क्षण विशेष रूपमा सिँगारिएको महसुस भयो,’ डा. अर्याल भनिरहेका थिए, ‘मञ्चका कलाकारसँगै दर्शकदीर्घाले एकसाथ गाइरहेको देख्दा, यो त जीवनमै एकपटक लिनैपर्ने रमाइलो अनुभवजस्तो लग्यो।’

लोरेन ग्राबीले साउन्ड इन्जिनियरको काम थालेको ३० वर्ष भयो। बितेको १५ वर्षयता भने उनी यसै टर्मिनल फाइभमा कार्यरत छन्।
‘मैले दुनियाँभरका धेरै प्रकारका ब्यान्डहरूको कन्सर्टमा काम गरेको छु। नेपथ्यसँगको अनुभव भने यो रक ब्यान्ड भईकन पनि यसका संगीतमा लुकेका युनिक नोटहरूले गर्दा बेग्लै स्वादको लाग्यो,’ लोरेन भन्दै थिए।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब छैटौँ प्रस्तुतिका लागि नेपथ्य डिएमभी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ। यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ मा ब्यान्ड प्रस्तुत हुँदै छ।

See More On

सुझावित समाचार