अछामको मंगलसेन–ठाँटीखान सडकखण्डको ठुलासैनस्थित चिण्डेमा सडक भासिएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रातभरको वर्षाका कारण आइतबार बिहान सडक भासिएपछि मध्यपहाडी लोकमार्ग बन्द भएको हो ।
चिण्डेमा सडकको मुनिको भाग भासिएपछि दुई तर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
उनका अनुसार सडक भासिएको खबर पाएलगत्तै आइतबार बिहानै अस्थायी प्रहरी पोस्ट ठुलासैनबाट प्रहरी वरिष्ठ हवल्दार टेक नाथको कमान्डमा प्रहरीहरू खटिएका छन् । सडक अवरोध भएपछि अछाम हुँदै मध्यपहाडी लोकमार्गबाट दैलेख, सुर्खेत, कैलाली, नेपालगन्जतर्फ जाने सवारीसाधन चल्न सकेका छैनन् भने अछामतर्फ आउने सवारीसाधनसमेत बिचबाटोमै रोकिएका छन् ।
मंगलसेन नगरपालिकागको समन्वयमा सडक खुलाउने विषयमा पहल भइरहेको भए पनि सडकको तल्लो भाग भासिएका कारण तत्कालै मर्मत गर्न समस्या हुने देखिएको छ ।