संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

ललितपुर महानगरपालिका– ५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन। महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनर्निर्माण तथा संरक्षणको पहल गरे पनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन्।

०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका– ५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो। ०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिए पनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन।

ललितपुर महानगरपालिका– ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताए। उनले भने, ‘ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ। संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ।’

मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाइ देउला बताउँछन्। ‘हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गर्थ्याैँ। धेरै वर्षसम्म पोखरी सुक्खा थियो। स्थानीयको पहलमा अहिले पानी भरिए पनि संरक्षण हुन सकेको छैन। महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।

हाल सो पोखरीमा फोहाेर पानी छ। परिसरमा घाँस उम्रेको छ। पोखरीलाई तारबार गरेर राखिएको छ।

सुझावित समाचार