उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतकाे आन्तरिक खपत बढाउन जोड दिनुपर्ने बताएका छन् । बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा बोल्दै उनले निर्यातमा भन्दा पनि आन्तरिक खपतमा जोड दिनुपर्ने बताएका हुन् । सोहीअनुसार ठुल्ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति पनि सरकारले ल्याउने उनले बताए । साथै, नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउन पनि सरकारले वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरूले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत् आयोजनाले लगानी नपाएको बताए । ‘बैंकहरूसँग जलविद्युत्मा गर्ने लगानीको एउटा सानो सीमा छ,’ उनले भने, ‘विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् ।’
अध्यक्ष कार्कीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जलविद्युत् आयोजनाहरूको आइपिओ स्वीकृत नहुँदा निर्माणमा पैसा जुटाउन समस्या भएको कताए ।
कार्यक्रममा विद्युत् विधेयकले निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, १ प्रतिशत भन्सारमा हुने काममा २८ प्रतिशत भन्सार पुर्याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट छुट अहिलेसम्म पनि नपाएको गुनासो गरे ।
कार्यक्रममा आइएफसीका नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकहरूले बर्सेनि ४०–५० अर्ब रुपैयाँ मात्रै ऊर्जामा लगानी गर्न सक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताए ।