चार पार्टी सम्मिलित समाजवादी मोर्चाको दस्ताबेजमाथि सचिवालयमा छलफल सुरु भएको छ । विगतको समीक्षा गर्दै आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् । दस्ताबेज निर्माणसँग सम्बन्धित भएर छलफल सुरु भएको मोर्चाको सचिवालय सदस्यसचिव एवं नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार राजनीतिक, सांगठनिक र संषर्घको रूपमा कार्यक्रम ल्याउने तयारी छ । ‘वस्तुगत र निर्मम समीक्षा गर्दै आगामी कार्यक्रम तय गर्छौँ । राजनीतिक, सांगठनिक र संघर्षको स्पष्ट खाका तयार पार्छौँ,’ उनले भने ।
सोमबारको बैठकमा विश्वकर्माले विषय प्रवेश गर्दै विदेशी हस्तक्षेप बढेको भन्दै देशभक्त शक्तिहरूलाई संगठित गर्दै जानुपर्ने आवश्यकता औँल्याए । कतिपय सन्दर्भमा देशभित्रको परिस्थितिले पनि समस्या निम्त्याएको उनको विश्लेषण छ । मोर्चाको अपेक्षा र जनताको चाहना सम्बोधन गर्ने गरी कार्यक्रम तय गर्नुपर्नेमा उनले जोड दिए ।
सचिवालय सदस्यहरू एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष प्रमेश हमाल र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले मोर्चालाई सशक्त बनाएर जानुपर्ने बताए । उनीहरूले विगतको कमीकमजोरीको समीक्षा गर्दै त्यसलाई नदोहोर्याउने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । ‘मोर्चालाई सशक्त बनाउनुपर्छ । फराकिलो बनाउँदै जानुपर्छ । विगतमा देखिएका समस्याबाट पाठ सिकेर जानुपर्छ । राजनीतिक रूपमा जनताले बुझ्ने गरी कार्यक्रम तयार पार्नुपर्छ । संगठन र संघर्षका कार्यक्रमलाई छरितो बनाउनुपर्छ,’ उनीहरूको भनाइको सार थियो ।