विद्युत् निर्यात दैनिक एक हजार मेगावाट नाघ्दै

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

नेपालबाट दैनिक एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात सुनिश्चित भएको छ । तीन वर्षदेखि भारततर्फ बर्खामा बिजुली निर्यात भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको पहलमा पछिल्लो समय थप दुई सय ५१ मेगावाट बिजुली आयातका लागि भारतले स्वीकृति दिएको छ । यो स्वीकृतिपछि दैनिक नौ सय ४१ मेगावाट बिजुली नियमित रूपमा भारतीय बजारमा बिक्री गर्ने बाटो खुलेको छ ।

भारतले स्वीकृति दिएको परिमाणमा १० प्रतिशतसम्म थपेर नेपालले निर्यात गर्न सक्ने प्रावधानसमेत छ । सोही प्रावधाअनुसार नेपालले चाँडै नौ सय ४१ मेगावाटको सम्झौता भए पनि त्यसको १० प्रतिशत हुन आउने ९४ मेगावाट बिजुली पनि थपेर निर्यातको गृहकार्य थालेको छ ।

१० प्रतिशत थप्न पाउने सुविधा उपभोग गर्दा भारततर्फ कुल एक हजार ३५ मेगावाट बिजुली निर्यात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘स्वीकृत परिमाणको १० प्रतिशत थपेर विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ,’ उनले भने, ‘अब चाँडै हजार मेगावाटभन्दा बढी बिजुली निर्यात हुनेछ ।’

कार्यकारी निर्देशक घिसिङले भर्खरै स्वीकृति भएको थप परिमाणको बिजुली भारतको बिहारमा एक सय २५ मेगावाट र हरियाणामा १२५.८९ मेगाावट निर्यात गरिने जानकारी दिए । हरियाणा राज्यमा अहिले पनि एक सय नौ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

गत वर्ष हरियाणामा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा (५.२५ भारु)मा विद्युत् बिक्री गर्ने गरी सम्झौता भएका थियो । पछिल्लोपटक भएको सम्झौता भने विद्युत् बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु) तोकिएको छ । यसमा भारतर्फको प्रसारणलाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क भारतले नै व्यहोर्नेछ । 

यसबाहेक दुई सय मेगावाट थप बिजुली निर्यातका लागि स्वीकृति लिने प्रक्रियासमेत अगाडि बढेको उनले जानकारी दिए । यो वर्ष २५ देखि ३० अर्ब रुपैयाँ बिजुली निर्यातको लक्ष्य राखिएको उनले बताए ।

भारतले भन्यो–नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ

दैनिक एक हजार मेगावाट विद्युत् निर्यातको दिशामा अघि बढेपछि नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अघि बढेको भन्दै प्रशंसा गरेको छ ।

जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत गएर समकक्षी नरेन्द्र मोदीसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको र सो सम्झौताको पहिलो वर्षमै उल्लेख्य सफलता मिलेको दूतावासले जनाएको छ ।

‘नेपाल र भारतबिचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ,’ दूतावासको  विज्ञप्तिमा भनिएको छ, ‘यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ ।’  

नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनेको पनि दूतावासको भनाइ छ । त्यस्तै, २३ असारमा बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौताको टुंगो लागेको, तर बंगलादेशको आन्तरिक राजनीतिले गर्दा यो सम्झौता केही समय धकेलिए पनि चाँडै पूर्णता पाउने दूतावासले विश्वास व्यक्त गरेको छ ।

भारतका विद्युत् खरिदकर्तालाई जलविद्युत् खरिद दायित्व (एचपिओ)को हिस्साका रूपमा नेपालबाट आयात हुने विद्युत् गणना गर्न दिने व्यवस्थासमेत गरेको दूतावासले जनाएको छ । ‘भारतले भारतका खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपिओ)को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो वर्ष करिब ३० अर्बको निर्यात गर्ने लक्ष्य छ : कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
भारततर्फ नौ सय ४१ मेगावाट बिजुली निर्यातको स्वीकृति पाइसकेका छौँ । स्वीकृत परिमाणको १० प्रतिशत थपेर विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ । अब चाँडै हजार मेगावाटभन्दा बढी बिजुली निर्यात हुनेछ ।’

यसबाहेक दुई सय मेगावाट थप बिजुली निर्यातका लागि स्वीकृति लिने प्रक्रियासमेत अगाडि बढेको छ । यो वर्ष २५ अर्बदेखि ३० अर्ब रुपैयाँ बिजुली निर्यातको लक्ष्य राखिएको छ ।

१२ नयाँ आयोजनाबाट उत्पादित दुई सय ५१ मेगावाट निर्यातको स्वीकृति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ जलविद्युत् परियोजनाबाट उत्पादित दुई सय ५१ मेगावाट विद्युत् निर्यातको स्वीकृति दिएको हो । भारतमा विद्युत् बिक्री गर्न निश्चित आयोजनालाई स्रोत देखाएर स्वीकृति लिनुपर्छ, सोहीअनुसार प्राधिकरणले भारतबाट उक्त स्वीकृत पाएको हो । भारतले यसअघि १६ परियोजनाको ६ सय ९० मेगाावाट विद्युत् बिक्री गर्न नेपाललाई स्वीकृत दिएको थियो । 

अब भने मध्यकालीन सम्झौता र प्रतिस्पर्धा गरेर भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादितमध्ये नौ सय ४१ मेगावाट विद्युत् निर्यात हुनेछ । त्यसमा मध्यकालीन सम्झौताअन्तर्गत तीन सय ६० मेगावाट र पाँच सय ८१ मेगावाट विद्युत् भने त्यहाँको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री हुनेछ । तर, प्राधिकरणले स्वीकृत पाएको भन्दा १० प्रतिशत बढी विद्युत् निर्यातसमेत गर्नेछ ।

अहिले नेपालको विद्युत्जडित क्षमता ३२ सय मेगावाट हाराहारीमा छ । तर, अधिकतम  माग दुई हजार मेगावाट हुने गरेको छ । त्यो अवस्थामा दैनिक हजार मेगावाटभन्दा बढी बिजुली गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

सुझावित समाचार