गत आर्थिक वर्ष ०८०/८१ मा एक लाख १३ हजार नौ सय ७६ जना बिमितले आफ्नो बिमा पोलिसी (बिमालेख) बन्द गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आवमा बिमा पोलिसी बन्द गर्ने (सरेन्डर) बिमितको संख्या १८ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७९/८० मा ९६ हजार नौ सय ३८ वटा पोलिसी बन्द भएका थिए । त्यसअघि आव ०७७/७८ मा ६३ हजार तीन सय ३१ र आव ०७८/७९ मा ८१ हजार आठ सय ६० जनाले पोलिसी बन्द गरेका थिए ।
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीमा सो संख्याबराबरको पोलिसी बन्द भएको प्राधिकरणका तथ्यांकशास्त्री वसन्तप्रसाद बोहराले बताए । तीन लघु जीवन बिमा कम्पनीको तथ्यांक भने यसमा समावेश नभएको उनले बताए ।
गत आवमा रकमका आधारमा पोलिसी सरेन्डर ९ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७९/८० मा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । गत आवमा भने १४ अर्ब ५० करोड १२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । यसअघि आव ०७७/७८ मा नौ अर्ब ८८ करोड १४ लाख रुपैयाँ र आव ०७८/७९ मा १२ अर्ब १८ करोड आठ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो ।
बिमितले निश्चित अवधि विशेष गरी १०, १५, २०, २५ वर्षलगायतको अवधि राखेर बिमा गर्ने गर्छन् । तर, तीन वर्षको किस्ता तिरेपछि बिमितहरूले अवधि नसकिँदै पनि पोलिसी बन्द (सरेन्डर) गरेर रकम फिर्ता गर्न पाउँछन् । बिमितले तिरेको बिमाशुल्क र पोलिसी सक्रिय भएको अवधिको बोनस पैसा गणना गरेर एकमुस्ट रकम (सरेन्डर भ्यालु) फिर्ता हुन्छ । यद्यपि, त्यसमा कम्पनीले जोखिम वहन गरेबापत निश्चित शुल्क भने काट्न सक्छ । कम्पनीले सरेन्डर भ्यालुबराबरको शुल्क भुक्तानी गरे पनि पोलिसी बन्द हुनेछ । सोहीअन्तर्गत बिमितहरूले पोलिसी बन्द गरेका हुन् ।
पहिला बिमा गरेको दुई वर्षसम्म पोलिसी बन्द गर्न पाइने थिएन । अभिकर्ताले कमिसनका लागि नियोजित रूपमै पोलिसी बन्द गराउँदै बिमा गराउने गरेको पाइएपछि बिमा प्राधिकरणले चैत ०७७ मा निर्देशन जारी गर्दै यस्तो सीमालाई तीन वर्ष पुर्याएको थियो । तैपनि, पोलिसी सरेन्डर बढ्ने क्रम जारी नै छ । यसलाई न्यूनीकरण गर्न नियामक निकायले आवश्यक पहल गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
विशेष गरी बैंकहरूले बैंकास्योरेन्स गर्न छाडेपछि पनि यस्तो समस्या देखिएको हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्णले बताए । पहिला बैंकहरूले संस्थागत अभिकर्ताका रूपमा बिमा गराउँदै आएका थिए । तर, साउन ०७६ देखि राष्ट्र बैंकले त्यसमा रोक लगायो । त्यसपछि बैंकहरूले बिमा गराउन छाडेका छन् । त्यसभन्दा पहिला बैंकहरूले गराएको बिमा पनि अहिले सरेन्डर भइरहेको सिइओ कर्ण बताउँछन् ।
कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा पोलिसी सरेन्डर गरेका पनि हुन सक्ने उनले बताए । ‘कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमै पोलिसी सरेन्डर पनि गरेका छन् । त्यसको हिस्सा भने न्यून छ,’ उनले बताए ।
कतिपय अभिकर्ताले कम्पनी परिवर्तन गर्दा आफ्नो नजिकका बिमितलाई पनि सँगै लिएर जाने गरेका छन् । कतिपय बिमितले कम्पनीलाई भन्दा पनि अभिकर्तालाई बढी विश्वास गर्छन् । त्यो अवस्थामा अभिकर्ताले कम्पनी परिवर्तन गर्दा बिमित पनि सँगै जाने गरेको कम्पनीहरू बताउँछन् ।
यस्तै, अभिकर्तालाई बिमा अवधिभर कमिसन नदिने नीतिका कारण पनि पोलिसी बन्द हुने गरेको कम्पनीहरू बताउँछन् । २०–२५ वर्षको अवधि राखेर बिमा गरिन्छ । तर, अभिकर्तालाई १० वर्ष मात्र कमिसन दिने नीति छ । त्यो अवस्थामा अभिकर्ताले कमिसनका लागि १० वर्षपछि पोलिसी बन्द गर्न लगाएर पुनः बिमा गराएका पनि हुन सक्छन् । यस्तो प्रवृत्ति पनि नेपाली बिमा बजारमा रहेको कम्पनीहरू बताउँछन् । यस्तो अवस्था आउन नदिन अभिकर्तालाई बिमा अवधिभर कमिसन दिने नीति ल्याउने विषयमा छलफल गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताले पनि पोलिसी सरेन्डर बढेको कम्पनीहरू बताउँछन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बिमितहरूको आम्दानी खस्किएको छ । त्यसले गर्दा उनीहरूले पोलिसी नवीकरण गर्न सकेका छैनन् । उल्टै आफ्नो आर्थिक अभाव व्यवस्थापन गर्न पोलिसी बन्द गरेर पैसा फिर्ता लग्ने गरेको कम्पनीहरू बताउँछन् ।
नवीकरण नभएको पोलिसी भने निष्क्रिय (ल्याप्स) भएर बस्नेछ, जुन पोलिसीले बिमितको जोखिम वहन गर्दैन । बिमितले नवीकरण शुल्क तिरेर त्यस्तो पोलिसी सक्रिय बनाउन सक्नेछन् । साथै, बन्द गरेर रकम फिर्ता पनि लिन सक्नेछन् ।
समीक्षा वर्षमा १४ जीवन कम्पनीले एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेका छन् । त्यसको ९.२७ प्रतिशतको अनुपातबराबरको रकममा पोलिसी सरेन्डर भएको देखिन्छ ।
बिमा पहुँच ४३.२७%
गत आवमा बिमाको पहुँच पनि घटेको छ । अघिल्लो आव ०७९/८० सम्म ४४.३८ प्रतिशत नागरिक बिमाको पहुँचमा थिए । तर, गत असार मसान्तसम्म आउँदा त्यो ४३.२७ प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो आवमा एक करोड ४१ लाख ३७ हजार तीन सय २१ वटा बिमा पोलिसी सक्रिय थिए । गत आवको अन्त्यसम्म आउँदा त्यो १.१८१ प्रतिशतले घटेर एक करोड ३८ लाख ८१ हजार चार सय ९२ वटामा सीमित भएको छ । नयाँ बिमितको वृद्धिदर न्यून हुने र सरेन्डर बढी हुँदा पनि बिमा पहुँच घटेको बिमा कम्पनीका अधिकारीहरू बताउँछन् । प्राधिकरणका अनुसार समीक्षा वर्षमा लघु म्यादी र म्यादी बिमा गरेका बिमित घटेका छन् ।
