बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्‍याउन कठिन

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा गएका दुई पहिरोमा घाइते भएका १० जनालाई अस्पताल पुर्याउन कठिन भएको छ। निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । 

बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा  प्राथमिक उपचार गरेका छन् । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए । 

उद्धारका लागि आएको नेपाली सेनाको हेलिकाेप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको उनले बताए। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठजनाको ज्यान गएको छ भने चारजना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

सुझावित समाचार