बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आज दिउँसो विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको नयाँ सत्तागठबन्धनबाट मुख्यमन्त्री बनेका लामाले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
बागमती प्रदेश संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री लामाले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिसकेको जानकारी दिए ।
९ साउनमा मुख्यमन्त्रीको शपथ लिएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यन्त्री लामाले त्यसअघि विश्वासको मत लिन लागेका हुन् । उनी एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
११० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१ एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् ।
प्रदेश सभामा राप्रपाका सभामुख र एमालेका उपसभामुख रहेका छन् । विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री लामालाई ६४ सांसदको समर्थन छ । जुन विश्वासको मतका लागि पर्याप्त हो ।
मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारलाई पूर्णतासमेत दिइसकेका छन् । १३ मन्त्रालय रहेको प्रदेशमा उनले एकजना विनाविभागीयमन्त्रीसहित १४ जना मन्त्री नियुक्त गरेका छन् ।