फ्लोर क्रसपछि गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत

डिजिटल संस्करण

माओवादीको चुनाव चिह्न लिएर गोरखा २ (१)बाट निर्वाचित नेसपाका फणीन्द्र देवकोटाले आफ्नो पद जोखिममा राखेर फ्लोर क्रस गर्दै मत दिएपछि जोगियो मुख्यमन्त्री पाण्डेको सरकार

पक्षमा ३१, विपक्षमा २८ : ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्थ्यो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको निर्वाचन चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा गरी ३१ मत परेको छ । विपक्षीमा एमालेका २२ र माओवादीका ६ मत मात्रै खसे । सभामुखले मतदानमा भाग लिएनन् ।

जटिल अंकगणितबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । माओवादीको चुनाव चिह्न लिएर गोरखा २(१) बाट निर्वाचित फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेर मतदान गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् । माओवादीले जारी गरेको ह्विप उल्लंघन गर्दै मत जाहेर गरेका देवकोटाले मध्यावधि रोक्न आफूले यो कदम चालेको प्रतिक्रिया दिएका छन् । 

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्थ्यो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको निर्वाचन चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा गरी ३१ मत परेको छ । विपक्षीमा एमालेका २२ र माओवादीका ६ मत मात्रै खसे । सभामुखले मतदानमा भाग लिएनन् ।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार १६ जेठमा कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिनुअघि पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०८० को नियम १५० बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । 

नाराबाजीबीच देवकोटाको फ्लोरक्रस 
मुख्यमन्त्रीले विश्वासको मत मागेपछि भएको मत विभाजनको क्रममा देवकोटा पाण्डेको पक्षमा मत जाहेर गर्न मतदान गर्ने कोठातर्फ गए । त्यसपछि एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले नाराबाजी र टेबुल ठोकेर विरोध गरे । 

देवकोटा पाण्डेको पक्षमा मत जाहेर गर्न गएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीले सुरुमा उठेर टेबुल ठोक्दै आफैँले नाराबाजी सुरु गरेका थिए । अधिकारीले नाराबाजी गर्दै दलविरोधी गतिविधि मुर्दावाद, ह्विप उल्लंघन गर्न पाइँदैन, दलीय व्यवस्था जिन्दावादलगायतका नारा लगाएका थिए । अधिकारीले टेबुल ठोक्ने र नाराबाजी गरेपछि एमाले र माओवादीका अन्य सदस्यहरूले साथ दिएका थिए । देवकोटाको मतले सरकार सुरक्षित भएपछि दलहरूका आ–आफ्नो अनुकूलका टिप्पणी आएका छन् । 

पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारीले गण्डकीमा जुन पजेरो काण्ड दोहोरिएको बताए । ‘यसअघि शेरबहादुर देउवाको पालामा जुन पजेरो काण्ड भएको थियो आजको घटनालाई मैले त्यसको दोस्रो रूपका रूपमा लिएको छु । कांग्रेसलाई सत्ताबाहेक केही चाहिएको छैन । सत्तामा आउन मूल्य–मान्यता कुल्चेर होइन सही काम गरेर आउन सक्नुपर्छ,’ उनले भने । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि कारबाही प्रक्रिया अगाडि बढ्ने बताए । ‘देवकोटा हाम्रो पार्टीको निर्वाचन चिह्न लिएर विजयी भएकाले कारबाहीको प्रक्रिया आजबाट सुरु हुन्छ । सुरुमा स्पष्टीकरण सोध्नेसँगै अन्य प्रक्रिया पूरा गरेर कारबाहीका लागि पार्टी केन्द्रमा लेखी पठाउँछौँ,’ उनले भने । 

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले प्रदेशलाई मध्यावधिमा जान रोक्न विश्वासको मत दिइएको बताए । ‘महिनामा चारपटक सरकार परिवर्तन हुनु राम्रो होइन । केन्द्रमा हुने परिवर्तनले प्रदेशमा असर गर्नुहुँदैन । प्रदेशलाई मध्यावधिमा जान दिए देशलाई ठूलो आर्थिक भार पर्ने भएकाले सहयोग गरेका हौँ । समर्थन गरे पनि सरकारमा जाने–नजाने पार्टी केन्द्रको निर्णयमा भर पर्छ,’ उनले भने । 

स्थायित्व र मध्यावधि रोक्न विश्वासको मत दिएँ : देवकोटा
देवकोटाले भने आफूले प्रदेश सरकारको स्थायित्व र मध्यावधि रोक्न नेसपाको निर्णयका आधारमा विश्वासको मत दिएको जिकिर गरेका छन् । ‘म माओवादीको चुनाव चिह्न लिएर विजयी भएको हो, तर म माओवादी पार्टीको होइन, मेरो पार्टी नेपाल समाजवादी पार्टी हो । मैले प्रदेश, प्रदेश सभा जोगाउन र मध्यावधिमा नजाओस् भन्नका लागि धेरै सोचविचार गरेर मत दिएको हुँ,’ उनले भने, ‘पार्टीको प्रदेश समिति र केन्द्रको निर्णयअनुसार पनि मुख्यमन्त्रीलाई मत दिएको हुँ । यसअघि मलाई जानकारी नदिई संख्या गणना गरेर सरकार परिवर्तन भएको पनि हो । त्यसपछि मलाई गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदै छ भन्ने । पछि एमालेका खगराज अधिकारीको पक्षमा मत पनि दिएको हो, तर सरकार जोगिन सकेन । यसपटक मुख्यमन्त्रीलाई अन्य दलका सदस्यले समेत साथ दिएपछि आफूले पनि समर्थन गर्दै मत जाहेर गरेको हो ।’

उनले माओवादीले ह्विप उल्लंघनको आरोपमा आफूमाथि कारबाही गर्छु भन्नु सान्दर्भिक नहुने दाबी गरे । ‘माओवादीले ह्विप जारी गरे पनि म समाजवादी पार्टीको भएकाले सो ह्विप आफूमा लागू हुँदैन । प्रदेश सभाबाट समाजवादीकै नाममा परिचयपत्र पाएको छु र निर्वाचन आयोगको साइडमा समेत मेरो नाम समाजवादी पार्टीको नाममा छ, अनि माओवादीले कसरी गर्ने कारबाही गर्ने ?’ उनले भने । 

नीति तथा कार्यक्रम मंगलबार 
विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम पेस गर्नका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र पठाएका थिए । सोहीअनुसार मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आउने भएको हो । 

गण्डकीमा बारम्बार गडबड, १७ महिनामा चार सरकार 
४ मंसिर ०७९ मा सम्पन्न प्रदेश सभाको निर्वाचनपछि गण्डकीमा १७ महिनाको अवधिमा चार सरकार बनेका छन् । २५ पुस ०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको तीन महिना नपुग्दै १० चैत ०७९ मा सत्ताघटक दल माओवादीले दिएको समर्थन फिर्ता लिएपछि ९ वैशाख २०८० मा विश्वासको मत लिन मुख्यमन्त्री अधिकारी असफल भएसँगै उनी पदमुक्त भएका थिए । अधिकारीपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे १४ वैशाख ०८० मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डेलाई सत्ताघटक माओवादीले दिएको समर्थन २३ फागुन २०८० मा फिर्ता लिएपछि विश्वासको मत पाउने अवस्था नदेखेपछि २१ चैतमा पाण्डेले राजीनामा दिएका थिए ।

२५ चैतमा सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सभामुखको समेत गणना गर्दै मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस दलका नेता पाण्डेले नियुक्ति बदरको माग गर्दै २७ चैतमा सर्वोच्चमा रिट दर्ता गरेका थिए । पाण्डेले दायर गरेको रिट सर्वोच्चले १७ वैशाखमा खारेज गरेसँगै विश्वासको मत लिन अदालतले बाटो खोलिदिएपछि अधिकारीले २३ वैशाखमा विश्वासको मत लिएका थिए । २३ वैशाखमा विश्वासको मत लिने क्रममा ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना सदस्यको समर्थन आवश्यक रहेकोमा सभामुख कृष्ण धितालले ३० मतलाई बहुमत मान्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । त्यसपछि २५ गते त्यसविरुद्ध पाण्डेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए ।

२५ वैशाखमा पाण्डेले दायर गरेको रिटको १४ जेठमा अन्तिम फैसला सुनाउँदै न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ४८ घण्टाभित्र १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि पाण्डे १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गण्डकीमा सरकार सुरक्षित, संकट यथावत्

माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि तत्कालका लागि गण्डकीमा सरकार सुरक्षित भएको छ । तर, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देवकोटाको यो कदम कारबाहीको विषय हुन सक्ने जनाउ दिएपछि गण्डकीमा जुनसुकै वेला राजनीतिक संकट निम्तिन सक्ने सम्भावना भने कायमै बनेको छ । 

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री : गण्डकीमा जसले संविधान, कानुनको मान्यता र मर्मविपरीत ‘फ्लोर क्रस’ ग¥यो, स्वाभाविक रूपमा कारबाही हुन्छ । पार्टीले विश्वासको मत नदिन ह्विप जारी गरेको थियो । ह्विप तोड्नेलाई कारबाही हुन्छ । अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ । निलम्बन गर्छौँ ।

दिनेश थपलिया, प्रमुख निर्वाचन आयुक्त : मिलेर निर्वाचन लडेपछि त्यो अवधिभर जुन संसदीय दलअन्तर्गत रहन्छ, त्यसकै सदस्य हुन्छ । हामीले पार्टी छुट्याउन सक्दैनौँ भनेर उहाँहरूलाई स्पष्ट भनेका छौँ । उहाँहरूले आयोगमा दर्ता गराएको पत्रअनुसार नेसपाको सांसद कायम गर्ने कानुनी आधार छैन । 

कृष्ण शर्मा, प्रवक्ता, नेसपा : पार्टीको निर्देशन र जनताले आमनिर्वाचनमा दिएको जनादेशबमोजिम हाम्रो पार्टीका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले विश्वासको मत दिनुभएको हो । विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरी कारबाही गर्न मिल्ने अवस्था होइन । संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो ।

भीमार्जुन आचार्य, संविधानविद् : गण्डकी सरकारले विश्वासको मत पाइसकेको छ । माओवादीले देवकोटालाई कारबाहीका लागि कानुनी आधार देखिँदैन । टेक्निकल रूपमा दलहरू मिलेर निर्वाचन लडेका हुन् । नेसपा निर्वाचन आयोगमा दर्ता भएको दल हो । कारबाहीको निर्णय लिए त्यसमाथि चुनौती दिने आधार छन् । फेरि विश्वासको मत लिनुुपर्ने कानुनी अवस्था छैन ।

देउवाका पालाको पजेरो काण्डको दोस्रो रूप देखियो : खगराज अधिकारी एमाले संसदीय दलका नेता 
यसअघि शेरबहादुर देउवाको पालामा जुन पजेरो काण्ड भएको थियो आजको घटनालाई मैले त्यसको दोस्रो रूपमा लिएको छु । कांग्रेसलाई सत्ताबाहेक केही चाहिएको छैन । सत्तामा आउन मूल्य–मान्यता कुल्चेर होइन, सही काम गरेर आउन सक्नुपर्छ ।

See More On

सुझावित समाचार