लुम्बिनीको प्रवर्द्धन गर्न एनआरएनए र चार स्थानीय सरकारबीच समझदारी

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपाली र स्थानीय तहले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका र देवदह नगरपालिकाबीच समझदारी भएको छ ।

एनआरएन र चार पालिकाले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि संयुक्त साझेदारी गर्ने भएका छन् । काठमाडौंस्थित एनआरएनको सचिवालयमा बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा एनआरएनका अध्यक्ष डा बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदीप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैरआवासीय नेपाली संघबीच संस्थागत रूपमा नै सम्बन्ध कायम भएको भन्दै खुशी व्यक्त गरे । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताए । आफूहरूले केन्द्र सरकारसँग थुप्रै काम गरेको अझै कतिपय काम पाइपलाइनमै रहेको भन्दै अध्यक्ष डा. केसीले स्थानीय सरकारसँग मिलेर एनआरएनएले अझ धेरै काम गर्न सक्ने विश्वास व्यक्त गरे । हरेक गैरआवासीय नेपाली पर्यटकीय सद्भावना दूत भएको भन्दै अध्यक्ष डा. केसीले भने, ‘हाम्रा ८७ वटा राष्ट्रिय समन्वय परिषद् (एनसिसी) छन्, म सरकारसँग आग्रह गर्छु ती ८७ वटै एनसिसीका अध्यक्षलाई सरकारले पर्यटकीय सद्भावना दूत बनाओस् ताकि नेपालको पर्यटन प्रवर्द्धनमा हरेक गैरआवासीय नेपाली सहभागी बन्न सकोस् ।’

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख खरेलले लुम्बिनी प्रदेशमा ४ वटा ऐतिहासिक स्थानलाई विश्व बजारमा चिनाउन र हामीलाई जोड्न एनआरएनएले गरेको पहलको प्रशंसा गरे । कपिलवस्तु नगरपालिकामा प्रमुख पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्त रूप लिने विश्वास व्यक्त गरे । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मुसलमानको भनाइ सम्प्रेषण गर्दै प्रशासकीय प्रमुख कृष्ण सापकोटाले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भएको समझदारीले समग्र लुम्बिनी प्रदेशको समग्र विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । रामग्राम नगरपालिकाका प्रमुख यादवले सहकार्यले लुम्बिनी विकासको सपना पूरा गर्ने बताए ।

एनआरएन र टिइपिसीले सहकार्य गर्ने
काठमाडौं÷ गैरआवासीय नेपाली संघ (एनआरएनए) र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी)ले अन्तर्राष्ट्रिय बजारमा नेपालका मौलिक सामग्रीको प्रवर्द्धन गर्न सहकार्य गर्ने भएका छन् । नेपालको निर्यात वृद्धि तथा मौलिक वस्तुको ब्रान्डिङ गर्ने उद्देश्यले दुई संस्थाले सहकार्यको समझदारी गरेका हुन् ।

समझदारीपत्रमा संघका अध्यक्ष डा. बद्री केसी र टिइपिसीका कार्यकारी निर्देशक शरदविक्रम राणाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार टिइपिसी र एनआरएनएको सहकार्यम नेपाली मौलिक सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढीभन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । 

सुझावित समाचार