ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

ललितपुरमा पर्यटक बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने समझदारी

सोमबार, १२ चैत, २०८०
डिजिटल संस्करण

पुरातात्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरुको संख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ । 
न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल गरेका हुन् ।

भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीब्र बनाइएको बताएका थिए । दुईपक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए । 

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेर विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउन महानगरले विभिन्न योजनाहरु अघि बढाएको बताए । 

पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनर्निर्माण र संरक्षणमा शुन्य सहनशीलता अपनाइएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको बताए । नवनियुक्त श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए । 

नवनियुक्त श्रेष्ठलाई बधाई दिँदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्डमार्फत सहकार्य गर्न आफूहरु सधैँ तयार रहेको पनि बताए । मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका हुन् । 

संसारभरका मेयरहरुको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गरेका हुन् ।

सुझावित समाचार